काठमाडौँ — कोभिड–१९ को जोखिम सुरक्षणका लागि सुरु गरिएको कोरोना बिमामा दाबी पर्न थालेको छ । पछिल्ला तीन दिनमा चार जना बिमितबाट दाबी परेको हो ।
नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीमा एकरएक जनाको दाबी परेको नेपाल बिमक संघले जनाएको छ । तीमध्ये शनिबारसम्म नेको इन्स्योरेन्समा परेको दाबीबापत १ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । दाबी भुक्तानी लिने कृषि विकास बैंकका कर्मचारी हुन् । कृषि विकास बैंकले नेको इन्स्योरेन्समार्फत आफ्ना कर्मचारीको सामूहिक कोरोना बिमा गरेको थियो । अनौपचारिक रूपमा ४ जनाको जानकारी आए पनि औपचारिक रूपमा बिमक संघमा एक जनाको मात्र दाबी परेको बताइएको छ ।
कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री सुरु गरिएको थियो । यो बिमाअन्तर्गत शुक्रबारसम्म ४ लाख २९ हजार ६ सय १० जनाले कोरोना बिमा गरेका छन् । उक्त बिमामा २३ करोड ५६ लाख ८४ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा ३८ हजार ६ सय ९४ वटा बिमालेख बिक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका थिए ।
सरोकारवालाबीचको सहमतिअनुसार कोरोना बिमामा परेका दाबीमध्ये पहिलो १० हजार जनाको दाबी भुक्तानी बिमा कम्पनीले नै भुक्तान गर्नेछन् । त्यसपछिको थप १० हजार दाबी भुक्तानी नेपाल पुनर्बिमा कम्पनीले, थप ५ हजार दाबी भुक्तानी बिमा कम्पनीहरुको महाविपत्ति कोषबाट बेहोरिनेछ । उल्लिखित २५ हजारपछिको थप १० हजार दाबी भुक्तानी बिमा समितिले बेहोर्नेछ । त्यसभन्दा माथीको दाबी भुक्तानीबापतको सबै दायित्व ९रकम० सरकारले बेहोर्ने सहमति भएको छ ।
गत सातादेखि बिमालेख कायम हुने अवधि परिमार्जन गरिएको छ, जसमा कोरोना बिमाको समयावधि ०७७ चैतसम्म मात्र हुनेछ । यसअघिको बिमालेखमा कोरोना बिमाको समयावधि बिमा भएको मितिले एक वर्षसम्म कायम रहने व्यवस्था थियो ।
कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक ९परिवार, कार्यालयका कर्मचारी आदि० रूपमा पनि यो बिमा गर्न सकिन्छ । १ लाख रुपैयाँको बिमाका लागि व्यक्तिले १ हजार रुपैयाँ प्रिमियम ९बिमा शुल्क० तिर्नुपर्छ । तर सामूहिक रूपमा घरपरिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ । यस्तै ५० हजार रुपैयाँ बिमांक रहेको बिमांकका लागि बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । हालसम्म भएका बिमामध्ये करिब ९५ प्रतिशतले १ लाख रुपैयाँको बिमा गरेको बताइएको छ ।
यो बिमा ३ महिनाको बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बिमा गर्न सकिन्छ । अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइन्छ । कोरोना बिमाको व्यवस्थापन लघुबिमाअन्तर्गत मौजुदा लघु बिमामार्फत गर्ने र बिमालेखहरु जारी गर्दा हाल कृषि बिमा तथा घुम्ती बिमाका लागि तोकिएका जिल्लामा कार्यरत कम्पनीले अनिवार्य यो बिमा गर्नुपर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS