काठमाडौं,चैत १७- विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरस (कोभिड- १९) का कारण विश्वका लाखौं मानिसहरु प्रभावित भएका छन् । विश्वको अर्थतन्त्र प्राय ठप्प जस्तै छ । लाखौं मानिसले रोजगारी गुमाएका छन् भने हजारौंले आफ्नो ज्यान गुमाइसकेका छन् ।
कोभिड -१९का कारण हालसम्म ३३ हजार ९सय ६५ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख २१ हजार ५ सय ६२ जना संक्रमित भएका छन् । अहिलेसम्म एक लाख ५१ हजार १ सय २८ जनामा संक्रमण निको भएको छ ।
चीनको बुहानबाट सुरु भएको यो महामारी अहिले यूरोप तथा अमेरिकामा भयाभव रुप लिदैं छ । यूरोपका इटाली, स्पेन, फ्रान्स, जर्मनमा अहिले संक्रमण तीब्र रुपमा फैलिरहेको छ भने यसबाट अमेरिका पनि अछुतो रहन सकेको छैंन ।
कोभिड- १९ का कारण इटालीमा हाल सम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९७ हजार ६सय ८९ पुगेको छ। त्यसै गरी स्पेनमा ८० हजार १ सय १० संक्रमित भएका छन् भने ६ हजार ८ सय ३ जनाले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या ६२ हजार ९५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको छ । फ्रान्समा संक्रमित ४० हजार १ सय ७४ रहेकोमा मृत्यु हुनेको संख्या २६ सय ६ रहेको छ ।
कोभिड–१९ पाको उमेरका व्यक्तिमा बढी घातक देखिएको छ। अहिलेसम्म पुष्टि भएका केस र त्यसको मृत्युलाई हेर्दा ८० वा त्यो भन्दा माथिको उमेरका व्यक्तिमा मृत्युदर १५ प्रतिशत भन्दा बढी रहेको छ ।
यस्तै ७० देखि ७९ वर्षका व्यक्तिमा यसको मृत्युदर ८ प्रतिशत रहेको छ । कम उमेरका व्यक्तिमा मृत्युदर अति कम देखिएको भए पनि जोखिम उच्च बन्दै गएको विज्ञले बताउन थालेका छन् ।
FACEBOOK COMMENTS