काठमाडौँ, श्रावण ३२ – भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। आइतबार विहानसम्म भारतमा ५० हजार ८४ जनाको मृत्यु भएको छ। पछिल्लो १० दिनमा नै १० हजारको मृत्यु भएको छ।
भारतमा ११ मार्चमा कोरोनाभाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो। त्यसको ९७ दिनपछि मृतकको संख्या १० हजार पुगेको थियो। त्यसपछि मृत्युदर तीव्र गतिमा बढेर अर्को ४० दिनमा नै मृतकको संख्या ५० हजार पुगेको हो।
अमेरिका र ब्राजिलपछि भारत तेस्रो धेरै संक्रमित भएको देश हो। तर, मृतक संख्यामा मेक्सिकोभन्दा पछि भारत चौँथो स्थानमा छ। मेक्सिकोमा करीब ५६ हजार, ब्राजिलमा एक लाख सात हजार र अमेरिकामा एक लाख ७२ हजारको मृत्यु भइसकेको छ।
विश्वमा करीब सात लाख ६८ हजारको मृत्यु भइसकेको छ। तीमध्ये ६।५ प्रतिशतको भारतमा मृत्यु भएको छ। अर्थात् विश्वमा ज्यान गुमाउने हरेक १०० जनामा सात जना भारतीय हुन्।
FACEBOOK COMMENTS