काठमाडौं, कात्तिक ४ – नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन् ।
मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैं गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति नेता नेपालले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएका छन् ।
‘सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन्’, नेता नेपालको भनाई छ । उनले सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनूचित भएको पनि बताएका छन् ।
FACEBOOK COMMENTS