काठमाडौं,फागुन १८– कोरोना भाइरसको सङ्क्रमणबाट अस्ट्रेलियामा एक जनाको ज्यान गएको छ ।
जापानमा क्वारेन्टाइनमा राखिएको ‘डायमण्ड प्रिन्सेस’ पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।
कोरोनाबाट ज्यान गुमाएका ती पुरुषको परिचय भने खुलइएको छैन । ती पुरुषको पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो । क्वारेन्टाइन क्याम्पबाट आइसोलेशनमा पुर्याइएपछि उनकी पत्नीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । मृतककी पत्नीको अहिले आइसोलेशनमा उपचार भइरहेको छ ।
यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गइसकेको छ ।
वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।
FACEBOOK COMMENTS