काठमाडौं, जेठ १४ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड—१९ विरुद्धको खोपबारे १० दिनभित्र ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन् । त्यसका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको उनले बताएका छन् । आज शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो दाबी गरेका हुन् ।
उनका अनुसार खोपका लागि नेपालले चीन, बेलायत, अमेरिका रुससँग औपचारिक तथा अनौपचारिक रुपमा पहल गरिरहेको छ । यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग सकारात्मक छलफल र पहल भइरहेको मन्त्री ज्ञवालीको विश्वास छ ।
कोरोनाविरुद्धको खोपहरू क्लिनिकल ट्रायलको क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको पनि मन्त्री ज्ञवालीले बताएका छन् । उनका अनुसार अहिले चीन, रुस, अमेरिका, बेलायतलाई पत्राचार गरिसकिएको छ ।
‘चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी १० दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ, त्यसमा दुईचार दिन तलमाथि हुन सक्छ,’ मन्त्री ज्ञवालीले कार्यक्रममा भने ।
FACEBOOK COMMENTS