काठमाडौं, २१ चैत – अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले ‘सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल’को उपाधि जितेको छ।
शनिबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल खेलमा एआरए क्यामरुनले त्रिभुवन आर्मीलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
क्यामरुनको जितमा किउटे, बास्सेक र मौसाले समान एक-एक गोल गरे।
आर्मीका सुशान्त चौधरीले एक गोल फर्काए। खेलको पहिलो हाफमा क्यामरुनले आर्मीलाई निकै दबाबमा राखेको थियो।
पहिलो हाफको ४० औं मिनेटमा किउटेले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा क्यामरुनले थप २ गोल गर्यो। दोस्रो हाफको तेस्रो मिनेटमा नै बास्सेकले क्यामरुनको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको १६ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनलाई ३-१ को अग्रता दिलाए।
२८ औं मिनेटमा सुशान्तले आर्मीका लागि एक गोल गरे। पहिलो गोल गरेपछि आर्मीले थप गोलको अवसर सिर्जना गरे पनि सफल भएन।
खेल अवधिभर क्यामरुनले आर्मीलाई खुलेर खेल्न दिएन। खेलको म्यान अफ दि म्याच क्यामरुनका केउटे घोषित भए।
उपाधिसँगै क्यामरुनले तीन लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ।
क्यामरुनका मौसा प्रतियोगिताको भरको उत्कृष्ट खेलाडी घोषित भए। उनले २० हजार रुपैयाँ प्राप्त गरे।
क्यामरुनकै गुएमो उत्कृष्ट डिफेन्डर, आर्मीका रमेश भुजेल उत्कृष्ट मिडफिल्डर, ५ गोल गरेका आर्मीकै सुशान्त सर्वाधिक गोलकर्ता, नुवाकोट युनाइटेड एफसीका प्रयास तामाङ उदीयमान खेलाडी र क्यामरुनका सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक घोषित भए।
उनीहरूले जनही पाँच-पाँच हजार प्राप्त गरे। चितवन जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताबाट बचेको रकम स्व. विजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ।
एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका क्रममा कतारमा ३२ वर्षको उमेरमा निधन भएको थियो।
नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए। उनले चितवनलाई प्रतिनिधित्व गर्दै थुप्रै प्रतियोगिताहरु समेत खेलेका थिए।
FACEBOOK COMMENTS