काठमाडौँ, ९ चैत – कोरोनाविरुद्धको चिनियाँ खोप क्लिनिकल ट्रायलको कागजात बिनै नेपाल ल्याउन लागिएको छ।
सरकारले क्लिनिकल ट्रायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएको छैन । सो कागजातबिना खोपको प्रभावकारिता र सुरक्षा मापन गर्न नसकिने विज्ञहरू बताउँछन् ।
यद्यपि चिनियाँ दूतावासको दबावमा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप एक साता भित्रै नेपाल ल्याउन लागिएको हो । नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई हालसम्म विश्व स्वास्थ्य संगठनले पनि प्रयोगको लागि अनुमति दिएको छैन ।
चीनले घोषणा गरेको ८ लाख डोज खोपको नेपालकै खर्चमा ल्याउन यसै हप्ता लागिएको हो । उक्त खोप ल्याउन करिब १२ करोड नेरू खर्च हुने बुझिएको छ ।
यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा ल्याएर दिएको थियो ।
त्यस्तै विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ राजदूतावासहरूले बेग्लाबेग्लै सूचना सार्वजनिक गर्दै चिनियाँ खोप लगाएका व्यक्तिहरू मात्र चीन प्रवेश गर्नसक्ने घोषणा गरेका छन् ।
FACEBOOK COMMENTS