काठमाण्डौँ — उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।
मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
चाउचाउ, पानी, चामल, चिया, मसला, क्यान्डी, मिठाइ, दूध, पाउरोटी, मसला, दाल, बेसन, बिस्कुट, भुजिया कम्पनीविरुद्ध मुद्दा दायर गरेको विभागको भनाइ छ।
विभागले बजार अनुगमनको क्रममा लिएका नमूनामा खाद्य ऐन विपरीत मिसावट, न्यून गुणस्तर र दूषित भेटिएपछि कारबाही अघि बढाएको विभागले जनाएको छ।
१३ सय ४३ नमुना संकलन गर्दा दुई सय फर्मले खाद्य ऐन विपरीत खाद्य वस्तु बिक्री–वितरण गरेको पाइएकाले मुद्दा दायर गरेको विभागका महानिर्देशक संजीवकुमार कर्णले बताए।
यसैबीच बजारमा बिक्री वितरण हुने अखाद्य वस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुगेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबारबाट खाद्य स्वच्छता तथा गुणस्तर अभियान–२०७५ सुरु गरेको छ।
उपभोक्तामा चेतना बढाउन अभियान सुरु गरिएको हो।
अभियानको बिहीबार कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले उद्घाटन गरे।
दैनिक रुपमा प्रयोग हुने दूध तथा दुग्ध पदार्थ, पिउने पानी, खाने तेललाई केन्द्रीकृत गरेर सचेतना अभियान सुरु गरेको विभागले जनाएको छ।
अभियान वर्षभर सञ्चालन हुनेछ ।
— नागरीक
FACEBOOK COMMENTS