काठमाडौं, मंसिर ३ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो । सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन् ।
काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको अवस्थामा पाइएको हो । सो चामल गोदाम नम्बर २४ / ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ ।
कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्न समेत कठिन पाइएको छ ।
यसैगरी, थापाथली गोदाममा रहेको कर्णालीको तिते फापरसमेत कम्पनीले बिक्री गर्न नसकेर बिग्रिएको छ । कम्पनीको तथ्यांकअनुसार थापाथली गोदाममा ६ सय ४८ क्विन्टल तीते फापर रहेको छ । कम्पनीले २०७३ सालमा कर्णालीका किसानसँग किनेर ल्याएको तीते फापर बिक्री गर्न नसकेर गोदाममै बिग्रिएको अवस्थामा रहेको दाबी कम्पनी स्रोतको छ ।
स्रोतका अनुसार कम्पनीका केही कर्मचारीले आप्mनो स्वार्थका लागि गुणस्तरहीन चामल किनेर वर्षौदेखि गोदाममै थन्काएर राख्दा करोडौँको खाद्यान्न कुहिने अवस्थामा रहेको छ । स्रोतले भन्यो, ‘आप्mनो स्वार्थ पूरा गर्न खाद्यान्न बिक्री गर्ने नयाँ योजना नल्याएर गोदाममै खाद्यान्न वस्तु थन्क्याउने काम भएको छ ।’
खाद्यान्नको गुणस्तर व्यवस्थापन गर्न ६ महिनामा एकपटक गोदाममा राखेको सबै खाद्यान्नलाई सफा गरेर चेक जाँच गर्नुपर्ने हुन्छ । यसैगरी, खाद्यान्नको गुणस्तर कायम राख्न खाद्यवस्तुमा प्रयोग हुने औषधि राख्नुपर्ने हुन्छ । तर, वर्षमा एकपटकसम्म पनि औषधि नराखिएको स्रोतले जनाएको छ । कम्पनीसँग खाद्यान्नको गुणस्तर कायम राख्न र गुणस्तर सुधार गर्ने प्राविधिक छन् । तर, उनीहरूलाई परिचालन नगरेर त्यतिकै खाद्यान्न राखेको स्रोतले राजधानीसँग बतायो ।
प्राविधिकहरूलाई खाद्यान्न गोदाममा समय समयमा चेकजाँच गर्ने अनुमति नदिइएकै कारण लाखौँको चामल गोदाममा कुहिएको उनको दाबी छ । कम्पनीमा लामो समयदेखि कार्यरत केही कर्मचारीले आफ्नो स्वार्थका लागि प्राविधिकलाई गोदाममा चेक जाँच अनुगमन समेत गर्न नदिइने गरेको स्रोतको भनाइ छ । गोदाममा रहेको चामलमा घुनकीरा लागी अत्यधिक धूलो पारेर अन्तिम अवस्थामा आएपछि मात्र गुणस्तर चेक गराउने गरेको स्रोतले जानकारी दियो । राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS