खोटाङ- दिप्रुङ चुइँचुम्मा गाउँपालिकामा भेनियर उद्योग स्थापना गरिने भएको छ । खेर गएका रूख बिरुवाहरूलाई सदुपयोग गर्दै गाउँपालिकाको आम्दानीका लागि दुइटा भेनियर उद्योगको स्थापना गरिने भएको हो ।
गाउँपालिकाको आगामी आर्थिक वर्ष ०७५र०७६ को बजेटअन्तर्गत ४० लाख खर्च गरेर उद्योग स्थापना गरने भएको दिप्रुङ चुइँचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।
दिप्रुङ चुइँचुम्मा गाउँपालिका र स्थानीय सरकारको सहकार्यमा सञ्चालनमा ल्याइने भेनियर उद्योगबाट गाउँपालिकालाई ठूलो आम्दानीको स्रोत हुने जनाइएको छ ।
गाउँपालिकामा उत्तिस जातको काठ प्रशस्त रहेको र त्यसलाई प्रशोधन गर्ने उद्योग नभएका कारण अहिलेसम्म खेर गएको प्रमुख राईको भनाइ छ । उद्योग सञ्चालनमा ल्याएपछि गाउँपालिकाका स्थानीयवासीलाई काठ बिक्री गरेर आम्दानी गर्ने बाटोसमेत खुला हुने बताइएको छ ।
गाउँपालिकामा बिभिन्न प्रकारका ठूला–ठूला रूखहरू भएको तर स्थानीयले चिरानी गर्न नसकिरहेको अवस्थामा भेनियर उद्योग स्थापना गरिने भएपछि गाउँपालिकावासी हर्सित भएका छन् ।
FACEBOOK COMMENTS