काठमाडौं, फागुन २६- कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् । पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छाडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ ।
कलंकीमा बस्दै आएका सन्देश विष्टले भने, ‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै प¥यो †’ यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्ममिटरको पनि अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मास्क, सेनिटाइजर र थर्ममिटरको कृत्रिम अभाव सिर्जना गर्ने गरी कसैले लुकाउनु अपराध भएको बताए । उनले भने, ‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरकारले तीन–चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ ।’
नेपालमा तीन वटा उद्योगले सर्जिकल मास्क उत्पादन गर्दै आएको उत्पादकहरू बताउँछन्, जसमध्ये दुई कम्पनी त कच्चापदार्थ अभावमा बन्द नै भइसकेको मास्क उत्पादकको भनाइ छ । सर्जिकल मास्क उत्पादन गर्दै आएका शैलेश श्रेष्ठले भने, ‘गत आइतबारदेखि कच्चा पदार्थ नआएपछि उद्योग बन्द गरें । दैनिक रूपमा २५ हजार थान मास्क उत्पादन गर्दै आएको थिएँ ।’
चीन सरकारले मास्क बनाउने कच्चापदार्थ रोक लगाउने निर्णय गर्दा आफूहरूलाई अप्ठ्यारो भएको उनले बताए । मास्क उत्पादक श्रेष्ठले आवश्यक सहजीकरण गरिदिन सरकारलाई आग्रह गरे । यस्तै, सेनिटाइजरको पनि चरम अभाव खड्किएको छ भने ज्वरो नाप्नका लागि प्रयोग गरिने इनफारेड थर्ममिटरमा पनि कालोबजारी हुन थालेको छ । तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बरसम्म तिरेर थर्ममिटर खरिद गर्न उपभोक्ताहरू बाध्य छन् ।
केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएनका सचिव अर्जुन रायमाझीले कच्चा पदार्थ नआउँदा सर्जिकल मास्क उत्पादन गर्ने उद्योगहरू बन्द रहेको बताए । उनले भने, ‘माग बढी छ । तर, कच्चापदार्थ नआएको दुई महिना बितिसक्यो । सरकार पनि यस विषयमा गम्भीर हुनुपर्छ ।’
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बजारमा यस्ता सामग्रीको कृत्रिम अभाव सिर्जना गर्न नमिल्ने बताए । उनले भने, ‘सरकारले प्रभावकारी अनुगमन अघि बढाउनुपर्छ र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने बजारमा भएको हल्ला जस्तो कृत्रिम अभाव नभएको भन्दै उपभोक्ताले नै अनुगमन गर्नुपर्ने बताएका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS