काठमाडौँ — सरकारको असफलताका कारण अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकेको छैन । सुरुमा अनुदानका खोपको भर परेर बसेको सरकारले अहिले खरिद गर्न खोज्दासमेत खोप उत्पादक कम्पनी र दाताले यो सरकार लाई पत्याउन छाडेको छ । पछिल्लो समय उनीहरूले सरकारी निकायले लेखेका पत्रको जवाफसमेत दिन छाडेका छन् ।
नेपालले दातृ निकायलाई पनि खोप किनेर दिन आग्रह गर्ने गरेको छ । सरकारले खोप होस् वा अन्य उपकरण खरिदमा चासो दिएको छैन । उसले सहयोगमात्रै जुटाइरहेको छ । ‘खरिद गर्दा विवादमा परिने र सेनालाई अघि सार्ने भएपछि हामीले अरूसँग मागेर जुटाउने नीति लिएका छौं,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोनाको पहिलो लहरमा ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गर्ने बेला कर्मचारीलाई फसाइएकाले दोस्रो लहरमा खरिदभन्दा पनि मागेरै काम चलाउन पत्राचार ग¥यौं । सहयोग पनि राम्रै जुटेको छ ।’
विदेशमा रहेका नेपाली, दातृ निकाय, संघसंस्था, विदेशी मुलुकले सरकारलाई भन्दा पनि नेपाली जनतालाई सहयोग गरेको पूर्वमन्त्री त्रिपाठीले बताए । ‘मैले जति पनि दूतावास र खोप उत्पादन गर्ने देशका सरकारका पदाधिकारीसँग नियमित सम्पर्क गरें, उनीहरूले नेपाली जनतालाई सहयोग गर्ने हो भन्थे,’ उनले भने ।
त्रिपाठीले स्वास्थ्यमन्त्रीबाट बिदा हुँदै गर्दा भारतले १७ लाख खोप १५ दिनभित्र पठाउने बताएका थिए । उनले भनेको मिति पनि गुज्रिसकेको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानी गरे पनि १० लाख खोप आउन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० मा चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताएका थिए । त्रिपाठीले पनि जेठ १० को पत्रकार सम्मेलनमा जेठ ५ मै भारत, चीन, अमेरिका, बेलायत, रुसलगायतका खोप उत्पादक राष्ट्रलाई खोप खरिदका लागि आवश्यक समन्वय गरिदिनका लागि पत्र पठाएको बताएका थिए । ‘जति पत्र पठाए पनि रेस्पोन्स गर्ने थोरैमात्रै छन्,’ स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका एक कर्मचारीले भने, ‘एउटै कम्पनीलाई चार पटकसम्म पत्र पठायौं । केहीले जवाफ दिन्थे, केहीले वास्तै गरेनन् ।’
गत वर्ष माघ १४ मा खोप कार्यक्रम उद्घाटन क्रममा प्रधानमन्त्री केपी ओलीले सबै नेपालीलाई तीन महिनाभित्र खोप लगाइसक्ने उद्घोष गरेका थिए । बालुवाटारमा भएको कार्यक्रममा उनले भनेका थिए, ‘करिब तीन महिनाभित्र हामी सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्छौं । सरकारले खोप लगाइसक्ने घोषणा गरेको तीन महिना पुगेपछि २०७७ वैशाख २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरे । सम्बोधनमा उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्री ओलीले जेठ १४ मा फेरि राष्ट्रको नाममा सम्बोधन गर्दै थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिछाड्ने आश्वासन दिए ।
‘कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ, पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु,’ उनले भनेका थिए । उनले त्यसपछि पनि विभिन्न कार्यक्रममा खोप खरिद र लगाउने सुनिश्चितता भएको बारम्बार दाबी गरिरहेका छन् तर तीन महिनामा खोप लगाउन त के, खोप खरिदमा समेत कुनै पनि कम्पनीले नेपाललाई पत्याएका छैनन् ।
FACEBOOK COMMENTS