पोखरा, जेठ २९ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
साठी सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य चाहिन्छ । नयाँ सरकारलाई समर्थन गर्नेको सङ्ख्या टुपुक्क ३१ मत मात्र छ । त्यसमा पनि कित्ता परिवर्तन गरेर आएका स्वतन्त्र सदस्य राजीव गुरुङ दीपक मनाङेलाई विश्वासमा लिई राख्नु पर्ने छ ।
राजनीतिक रूपमा पनि भिन्न विचार भएका दलहरू मिलेर सरकारले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्नेछ जबकि राजनीतिक दलहरू सत्तामा गएपछि सहकार्यको संस्कृतिको सर्वथा अभाव देखिँदै आएको छ । सरकार गठन हुनासाथ सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्नुका अतिरिक्त असार १ गते प्रदेश सरकारको बजेट पेस गर्नुपर्ने चुनौती पनि नयाँ सरकार समक्ष हुने छ ।
FACEBOOK COMMENTS