काठमाडौं – सरकारले गत आर्थिक वर्ष ८८ अर्ब ४८ करोड रुपैयाँको निजी आवास निर्माण गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षति भएका निजी आवास निर्माणमा यो रकम खर्च गरेको हो । अघिल्लो आवमा ३५ अर्ब ३५ करोड रुपैयाँ निजी आवास निर्माणका लागि खर्च भएको थियो ।
प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दवाडीले भूकम्पयता दुई लाख ५७ हजार दुई सय ७५ निजी आवास पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘प्राधिकरण चालु आवमा सबै निजी आवास निर्माण गरिसक्ने लक्ष्यका साथ अघि बढेको छ । भूकम्पबाट क्षति भएका आठ लाख सात हजार चार सय ८६ निजी आवास लाभग्राहीको सूचीमा परेका छन् । सेवा ग्राहीको संख्या अझ थपिन पनि सक्छ ।’
प्राधिकरणमा सर्वेमा छुटेका भनी एक लाख २९ हजारको उजुरी परेको छ । त्यसमध्ये अझै ३५ हजारको उजुरी फस्र्योट हुन बाँकी छ’, दवाडीले भने, ‘९१ हजार उजुरीमात्रै हालसम्म फस्र्योट भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार पाँच लाख २५ हजार तीन सय ३० आवास निर्माणका क्रममा छन् ।
चार लाख ८५ हजार ९१ सेवाग्राहीलाई निजी आवास निर्माणका लागि सरकारले प्रमाणीकरण गरेर दोस्रो किस्ता भुक्तानी दिएको छ । दोस्रो किस्ता भुक्तानीका लागि चार लाख ९६ हजार ७० सेवाग्राहीले किस्ता प्राप्त गर्न निवेदन दिएका छन् ।
–अन्नपुर्ण पोष्ट
FACEBOOK COMMENTS