काठमाडौं, कार्तिक १४ – गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ ।
तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् । १३ करोड खर्च भएको कलंकीको पुलले पाँच वर्षमै भत्किनुपर्यो । साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ८ वर्षमै भत्काइयो ।
करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्काएर यसअघि नै अन्डरपास बनाइसकिएको छ ।
चक्रपथ विस्तारका कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप यो पुल भत्काइएको हो ।
FACEBOOK COMMENTS