काठमाडौं, कात्तिक ३ – नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दसैँ भत्ता वापतको रकम बराबरको चेक काटेर संसद सचिवालयमा पत्रसहित फिर्ता पठाएका छन् ।
उनले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा अहिले कोरोनाका कारण देशले चरम संकटको सामना गरिरहेको र लाखौं श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको उल्लेख गरेका छन् ।
‘अति विपन्न व्यक्तिहरूले चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको छ । कोरोना र अन्य रोगका विरामीहरूले उपचारको लागि अस्पतालको शैया समेत नपाउने अवस्था उत्पन्न भएको छ
। यसरी आम नागरिकले रोग र भोकसंग जुधिरहेको यो संकटपूर्ण घडीमा अनावश्यक खर्च र कतिपय सुविधा समेत कटौती गरेर जनताको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ,’ पत्रमा उल्लेख छ ।
त्यसैगरी उनले आम नागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिदै गएको अबस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले पनि उपयुक्त नदेखिने बताएका छन् ।
पत्रमा भनिएको छ, ‘यसकारण दसैँ खर्चको नाममा दिन लागिएको सुविधा बापतको रकम थोरै भएपनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले यसै पत्र साथ संघीय संसद सचिवालयमा चेक मार्फत् फिर्ता गरेको ब्यहोरा अनुरोध गर्दछु ।’
FACEBOOK COMMENTS