काठमाडौं, पुष २५ – फेदीखोला गाउँपालिका १ साल्मेडाडाँमा निमार्णाधीन गोरखा स्मारक पार्क तथा संग्राहलय निर्माण कार्यले गति लिन सकेको छैन।
वीर नेपालीको योगदानलाई पुस्तौंसम्म स्मरण गराउने उदेश्यले अघिबढाइएको बृहत योजना झण्डै एक दशक पुग्न लाग्दा पनि पूरा हुन नसकेको हो।
पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य युद्धमा मारिएका र हराएका ६० हजार नेपालीहरुको सम्झनामा स्मारक बनाउन लागिएको हो। गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा ९ वर्षअघि स्मारकको शिलान्यास भएको हो।
युद्धका बेला मारिएकाको समाधिस्थल, उनीहरुले प्रयोग गरेका हतियार लगायत अन्य सामाग्री, म्युजियम, सांस्कृतिक ग्राम, गोरखा टावर, १९ जातीका धर्म, संस्कृति र रितिरिवाज, बाटिका, श्रद्धान्जलीसभा हल, रेल सहितको निर्माण गरिने गेसोको महत्वाकांक्षी योजना छन्। दशक बिते। तर, ती योजना भने अलपत्र छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल साल्मेडाँडालाई छनौटगरी गेसोले निर्माण कार्य सुरु गरेको हो। पालिकाको सबैभन्दा अग्लो स्थलमा साल्मेडाँडा पर्छ। वरपर हरियाली र पहाडी बस्ती छ। जहाँवाट माछापुच्छ्रे लगायत हिमालय श्रृंखला र पर्यटकीय नगरी पोखराको साक्षात्कार गर्न सकिन्छ। पोखराबाट १७ किलोमीटर दक्षिण पूर्वमा पर्छ साल्मेडाँडा। कास्की र स्याङजाको संगमस्थलमा निमार्णाधिन पार्क ३ सय रोपनीमा समेटिएको छ। पार्क निर्माणका लागि २ अर्ब खर्च लाग्ने अनुमान छ।
ऐतिहासिक गौरवको आयोजनाका रुपमा रहेको सो बृहत योजना स्रोतको कमी, र नेतृत्व परिवर्तनपछि काम हुन नसकेको फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए। उनले भने ‘योजनालाई अलपत्र पर्न नदिन गाउँपालिकाको पहलमा संघीय सरकारले बहुबर्षिय योजना अनुरुप गतबर्ष ५ करोड रुपैंया उपलब्ध गराएपछि केही काम सुरु गरेका छौं।’
बृहत योजना सहित सुरु गरिएको पार्क निर्माणलाई पुरा गर्नुपर्ने अध्यक्ष सुवेदी भन्छन्। पार्कमा केही भौतिक संरचना निर्माण भएका छन्। जे जति परिकल्पना गरेर निर्माण कार्य सुरु सुरुका वर्षमा जे जति रफ्तारले काम भए पछिल्ला दिनमा त्यस्तो हुन नसकेको स्थानीयबासी एवं खीरकुमारी गुरुङको भनाइ छ।
जसरी नेपालीहरुका लागि गौरवको आयोजनाका रुपमा लिएर काम थालनी भयो, त्यसैगरी निरन्तरता पाउन नसक्दा गोरखा स्मारक अलपत्रै पर्ने हो कि चिन्ता बढेको उनको भनाई छ।
ब्रिटिस साम्राज्यको पक्षमा लागेर हजारौं नेपालीले ज्यान गुमाएका छन्। उनीहरुका सम्झनामा स्याङजाको भूमिका बन्न लागेको पार्क निर्माण कार्यलाई गेसोले पुनः चासो र समन्वय गर्नुपर्ने र नेपाल सरकारले पनि सहयोग गर्न जरुरी देखिन्छ। स्मारक निर्माणपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने छ भने युद्धका बेला ज्यान गुमाउनेका जीवनी सबैले अध्ययन अवलोकन गर्न पाउनेछन्।
FACEBOOK COMMENTS