काठमाडौं । पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका प्रयोगकर्ता घट्न थालेका छन् । केही महीना अघिसम्म उल्लेख्य मात्रमा थपिएका फोरजीका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७-७८ को ११ महीना (जेठ मसान्तसम्म) को तथ्यांकअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेका छन् । वैशाख मसान्तसम्ममा फोरजीका ७६ लाख ९७ हजार ८६३ जना प्रयोगकर्ता रहेकोमा जेठमा घटेर ७६ लाख ६४ हजार ४५९ मा सीमित छन् । गत वैशाखकोे तुलनामा जेठमा फोरजीका प्रयोगकर्ता ३३ हजार ५०४ जना घटेका छन् ।
नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका छन् । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले भने २१ हजारभन्दा बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग वैशाखसम्ममा २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकोमा जेठमा २७ लाख ७ हजार ४२९ जना पुगेको प्राधिकरणले बताएको छ ।
यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता १ लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्ममा स्मार्टका प्रयोगकर्ता २ लाख ६ हजार ३९३ जना थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक छन् । सोही अवधिमा जनसंख्याको ९१ प्रतिशतको पहुँचमा इन्टरनेट सेवा पुुगेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार जेठसम्ममा २ करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाखको तुलनामा जेठमा ३ लाख ३१ हजार ४२२ प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा २ करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए । तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । जेठसम्ममा मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ६८ प्रतिशत छ ।
१ करोड २० लाख ५२ हजारभन्दा बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको छ । यसमा सबैभन्दा धेरै टेलिकमको ९५ लाख ९० हजार र एनसेलको २४ लाख ६२ हजार रहेको बताइएको छ । गत वैशाखमा १ करोड १९ लाख ५६ हजार प्रयोगकर्ता रहेकोमा जेठमा करीब ९६ हजार बढी थ्रीजीका प्रयोेगकर्ता थपिएका छन् । फिक्स्ड ब्रोडब्याण्डको हिस्सा २५ दशमलव २७ प्रतिशत छ । यसमा एडीएसएलका ७ लाख ८५ हजार र एफटीटीएच इन्टरनेटका ग्राह ५ लाख ५६ हजार बढी रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS