काठमाडौं,बैशाख २३ – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ ।
लकडाउनका कारण आर्थिक गतिविधीमा सुस्तता आएको छ । देशभरका अत्यावश्यक सामग्री उत्पादन गर्ने कलकारखाना बाहेकका सबै कलकारखाना तथा उद्योगहरु बन्द रहेका छन् । यसको सिधा असर देशको अर्थतन्त्रमा देखिन थालेको छ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएको भन्दै उद्योग चलाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका छन् ।
मन्त्री भट्टले सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य गरेको जानकारी दिएका छन् । उनले पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा निमार्ण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको बताए ।
उद्योग सञ्चालनको लागि कार्यविधि नै बनाएर सुरक्षाका अधिकतम उपाय अपनाई काम सुरु गरिने मन्त्रालयले जनाएको छ ।यसका लागि मन्त्रालयले उद्योगीहरुको छाता संगठन, श्रमिक सगंठन लगायतसँग छलफल गरिसकिएको छ ।
FACEBOOK COMMENTS