अन्जनराज न्यौपाने,
तनहुँ, २२ आश्विन-जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्व नजिकिदै गर्दा जिल्लाको शान्ति सुरक्षालाई थप कडाइ गरेको छ। चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय तनहुँले विशेष सुरक्षा सक्रियता र निगरानी बढाएको छ । जिल्ला प्रहरीकार्यालय तनहुँका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै जिल्लाका सबै मातहतका इलाका प्रहरी कार्यालयहरुले उच्च निगरानी बढाएको जानकारी दिए ।
जिल्लाका अति महत्वपूर्ण क्षेत्रहरु देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका, व्यासनगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सुरक्षा अवस्था कडा पारिएको प्रहरी प्रमुख पौडेलले बताए। लागुऔषध ओसारपसार गर्ने, बिक्रीवितरण गर्नेहरुलाई विशेष निगरानी गरी विभिन्न नाकाहरुमा उच्च सतर्कता अपनाउँदै प्रहरी परिचालन गरिने उनले जनाए ।
‘जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत गराउन विशेष पहल गरिने छ’ जिल्ला प्रहरी प्रमुख पौडेलले भने । उनका अनुसार, मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ पनि निकै चनाखो भै प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको जानकारी प्रहरी उपरीक्षक पौडेलले दिए। यसैगरी , प्रहरी नायब उपनिरीक्षक युवराज तिमल्सिनाले ईलाका प्रहरी कार्यालयका ईन्चार्जहरुलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए ।
तनहुँ प्रहरीले चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना लागू गरेर सुरक्षालाई मजबुत बनाउन र चुस्त पार्ने तयारीसमेत थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत गरिएको छ ।‘मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजारमा विक्रि वितरण गर्ने ब्यापारी, उद्योगी र खरिदविक्रि गर्नेहरुलाई पहिचान गरि नियन्त्रणमा लिईने छ’उनले भने। जिल्ला प्रहरी कार्यालयले मिति सकिएका सामग्रीमा नयाँ मिति राखेर विक्री वितरण गर्न लागेको थाहा पाए सूचना दिन समेत आम सर्वसाधारणमा अपिल गरेको छ।
गत बर्ष तनहुँमा प्रहरीले अबैध क्रियाकलापमा संलग्न आठ जना ब्यापारीहरुलाई तत्कालै पक्राउ गरेको थियो । ‘यसपालि पनि हामी साधारण पोषाकमा परिचालित भएर ,कोही ग्राहक बनेर उच्च निगरानी र कालोबजारी रोक्न कठिबद्द भएर लाग्ने छौ’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । निरीक्षक क्षेत्रीले जुवा तास खेल्ने खेलाउने जुवाडे र मादकपदार्थ सेवन गर्ने र विक्रिवितरण गराउनेहरुलाई समेत कडा कारवाही गरिने बताए ।
FACEBOOK COMMENTS