काठमाडौं– चाबहिलबाट बौद्ध– जोरपाटी–मुलपानी–थली हुँदै साखु पुग्ने सडक कालोपत्रे सुरु भएको छ ।
लामो समय देखी धुलो र हिलाम्मे सडक शनिवारदेखि कालोपत्रे सुरु गरिएको हो ।
उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले शनिवार थलीको ओरालो खण्डबाट कालोपत्रे सुरु गरिएको बताए ।
उनका अनुसार करिव ५ सय मिटर खण्डको आधा भाग कालोपत्रे गरिएको छ भने मंगलबार बाँकी आधा भाग कालोपत्रे गर्ने तयारी गरिएको छ।
श्रेष्ठका अनुसार पछिल्लो बर्ष सडक विस्तार द्रुत गतिमा भैरहेको छ। सबै खण्डमा अहिले धमाधम काम भैरहेको छ। आयोजनाका अनुसार चुच्चेपाटीबाट बौद्धसम्म कालोपत्रे गर्नका लागि तयार पारिएको छ। केही दिनभित्रै कालोपत्रे सुरु गरिने छ।
करिव साढे १२ किमी लामो सडकको ८ किमी खण्ड ग्राभेलस्तरको भैसकेको आयोजनाले जनाएको छ। अधिकांश खण्डमा दुवैतिर पैदल यात्रुका लागि फुटपाथ निर्माण, ढल, हिम पाइप राख्ने काम सकिएको छ।
आयोजनाले यो आर्थिक बर्षभित्रमा कालोपत्रे गरिसक्ने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS