(बेइजिङ) — चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणले द्विदेशीय सम्बन्धमा नयाँ आयाम थप्ने चिनियाँ पूर्वराजदूत, विश्लेषक तथा प्राध्यापकले विश्वास गरेका छन् । नेपाल र चीन परम्परागत छिमेकी मित्र रहँदै आएको भए पनि यो भ्रमणले दुवै देशबीचका आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयहरू नवीकरण हुने उनीहरूको धारणा छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि तीनकुनेमा राखिएका चीनको झन्डा तथा दुवै राष्ट्रपतिका ब्यानरहरू । तस्बिर : अंगद ढकाल/कान्तिपुर
‘सीको भ्रमण चीन र नेपालबीचको सम्बन्धमा अहिलेको सबैभन्दा ठूलो विषय हो । यसले आपसी सम्बन्धमा रहेका धेरै कुराको भव्य प्रवर्द्धन गर्नेछ,’ सन् १९८७ देखि १९९१ सम्म नेपालका लागि राजदूत रहेका ली त प्याउले चिनियाँ राष्ट्राध्यक्षको दुईदिने नेपाल भ्रमण ऐतिहासिक हुने बताए । सीले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूसँग गर्ने भेटवार्ताले पर्यटन, प्रविधि, कृषि र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विकासमा ठूलो बाटो खोल्ने लीले विश्वास गरे । ‘नेपालका लागि ठूलो फाइदाको घडी आइपुगेको छ,’ उनले भने, ‘नेपालको विकासमा चीनले सघाउने अठोट देखाउँदै आएको हुनाले पनि सीको नेपाल भ्रमणले दूरगामी प्रभाव राख्नेछ ।’
२८ वर्षअघि राजदूतको चारवर्षे कार्यकाल सकेर नेपालबाट फर्किएका लीले चीन, नेपाल, भारत र बंगलादेशबीचको आर्थिक करिडोरमा नेपाल एउटा मुख्य पाटो भएको बताए । यसले गति लिएमा तिब्बतलाई पनि बाह्य दुनियाँ प्रवेशका लागि ठूलो अवसर मिल्ने उनको भनाइ छ । चीनले अघि सारेको बीआरआईलाई नेपालमा गतिशील गराउन र सीले अघि सारेको विश्व शान्ति र साझा भाग्य समुदाय निर्माण अभियानमा यो भ्रमण फलदायी हुने चिनियाँ वृत्तमा अपेक्षा छ । नेपालमा गत जुलाईमा एकमहिने अनुसन्धान गरेका हपै युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसअन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा. चाङ सुपिनले नेपालको हालको अवस्था सन् १९७० को दशकको चीनको जस्तै रहेको बताए । ‘नेपाल तीव्र आर्थिक विकासको विन्दुमा उभिएको छ । नेपाललाई वैदेशिक सहायता चाहिएका बेला चिनियाँ राष्ट्रपतिको भ्रमणले बीआरआईमार्फत ठूलो सहयोग हुन सक्नेछ ।’
बीआरआई भौतिक पूर्वाधार, कनेक्टिभिटी लगायतमा केन्द्रित भएकाले चीनको तीव्र विकासबाट नेपालले फाइदा लिन सक्ने वातावरण बन्दै गएको विज्ञहरूको भनाइ छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय रहेको काठमाडौंले बीआरआईका परियोजनाहरू निर्बाध अगाडि बढाउन सक्ने हो भने युरोपको केन्द्र ‘ब्रसेल्स’ बनेजस्तै काठमाडौं पनि दक्षिण एसियाको केन्द्र बन्न सक्ने प्राध्यापक चाङको भनाइ छ । ‘नेपाल चीन र दक्षिण एसियाबीचको बहुआयामिक पुल बन्न सक्छ,’ उनले भने । नेपालले ‘सुखी नेपाल, समृद्ध नेपाली’को अवधारणा अघि सारेकाले चीनको अपेक्षा पनि त्यही उपलब्धिमा केन्द्रित हुने उनले बताए । ‘सत्तारूढ होस् वा सत्ता बाहिरका दलहरू, विकासको मामिलामा एकजुट हुन सकून् र जनताका चाहनालाई पूर्ति गर्न सकून्,’ उनले भने, ‘चीन यही चाहन्छ ।’
संस्कृत शिक्षाका लागि चीन र नेपाल ओहोरदोहोर गरिरहने बेइजिङका एक प्राध्यापकलाई दुवै देशका नेताहरूले जनताको जीवनस्तर उकास्ने सवालमा हातमा हात मिलाउने ठूलो भरोसा छ । बेइजिङ हस्पिटल फर टिबेटन मेडिसिनअन्तर्गत तिब्बतशास्त्र अनुसन्धान केन्द्रका एसोसिएट प्रोफेसर लिउ यिङ ह्वाले भने, ‘चीनले अघि सारेको बीआरआईको निकै राम्रो समर्थकका रूपमा नेपाल पनि देखिएको छ । चीनले निकै ध्यान दिएको यो विषय एक छिमेकीका रूपमा नेपालले कसरी अगाडि लैजान्छ भन्ने हो ।’
दुई दशक लामो पर्खाइपछि चिनियाँ शीर्ष नेताले नेपाल भ्रमण गर्न लागेकोमा खुसी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध विकास, आदानप्रदान र सहकार्य नै सबैभन्दा मुख्य कुरा रहेको बताए । ‘चीन र नेपालबीचको राम्रो सम्बन्धले क्षेत्रीय स्थिरता, समृद्धि र विश्व शान्तिका लागि पनि प्रेरक भूमिका खेल्नेछ,’ उनले भने । सन् २०१७ मेमा हस्ताक्षर गरेदेखि बीआरआई परियोजनामा नेपालले खासै प्रगति गर्न नसकेकोतर्फ पनि चिनियाँ विश्लेषकहरू जानकार छन् । केरुङ–काठमाडौं रेलबारे धेरै हल्ला भएपनि नेपालतर्फ ठूलो अलमल रहेको चिनियाँ पक्षको बुझाइ छ । गत असार पहिलो साता बेइजिङमा नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि चिनियाँ पक्षले यस्तो टिप्पणी गरेर पठाएको थियो । राष्ट्रपति सीको भ्रमणमा यस विषयले गति लिन सक्ने अपेक्षा छ ।
नेपाल बुझेका अधिकांश चिनियाँ नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सन्तुलनमा पनि चासो राख्छन् । नेपालले दक्षिणी छिमेकी भारतसँग सन्तुलित समन्वय गर्न नसकेका कारण चीनसँगका परियोजनाको प्रगति सुस्त रहेको कतिपयको बुझाइ छ । चीन र भारत दुवै देशले नेपालका लागि विशेष सहयोग गर्दै आइरहेका अवस्थामा तीन देशबीचको समन्वय र सहकार्यको वातावरण बनाउन नेपालले अझ योगदान गर्न सक्ने उनीहरूको अपेक्षा छ । चिनियाँ राष्ट्रपतिले भारतपछि नेपालको भ्रमण गर्दा यी विषयमा पनि समझदारी बढ्ने उनीहरूको बुझाइ छ ।
‘यति लामो अन्तरालपछि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्नु आफैंमा सुखद घटना हो,’ इन्स्टिच्युट अफ इन्टरनेसनल एडुकेसन साउथ–साउथ को–अपरेसनका अनुसन्धान परियोजना निर्देशक निए ली काउले भने, ‘नेपाल–चीन दुवै देशका लागि फाइदाका सम्भाव्यतासहित यो भ्रमण हुन लागेको छ । यो दुवै देशका लागि महत्त्वपूर्ण छ, अझ बढी नेपालका लागि ।’
Kantiour
FACEBOOK COMMENTS