काठमाडौं – चीनको क्वीचोका दुर्गम क्षेत्रका करिव ६ लाख ७० हजार नागरिकलाई स्थानान्तरण गर्ने भएको छ ।
चीनको दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब ६ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध मिलाईने भएको हो ।
बुधबार प्रान्तीय सरकारको बार्षिक सम्मेलनमा स्थानीय अधिकारीले भने, चीन सरकार र राष्ट्रपति सी चिनफिङको गरिबी निवारण अभियान अन्तर्गत सन् २०१९ मा गरीब जनतालाई सुगम वस्तीमा ल्याएर उनीहरूलाई सार्वजनिक सेवा, रोजगारीमुलक तालीम दिइने छ ।
उनीहरूलाई स्थानान्तर गरेर राखिने वस्तीमा उनीहरूको पढाइका लागि विद्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य केन्द्र वा औषधी उपचार केन्द्र पनि स्थापना गरिने छ जसका कारण उनीहरूको शिक्षा तथा स्वास्थ्यको लागि सहज व्यवस्था हुनेछ, प्रान्तीय अधिकारीले बताए ।
चीनको अति गरिब मानिसहरू रहेको क्वीचो प्रान्तले १३ औँ ५ बर्षे योजना अन्तर्गत सन् २०१६ देखि २०२० सम्ममा १८ लाख ८० हजार गरिब नागरिकलाई गरिबीको रेखाभन्दा माथि उठाउने प्रयास अन्तर्गत यो कार्यक्रम तय गरिएको बताइएको छ ।
चीनले सन् २०२० सम्म मध्यमरूपको समृद्ध समाज निर्माण गर्ने र गरिबी निवारण गर्ने लक्ष्य लिएको छ । रासस
FACEBOOK COMMENTS