काठमाण्डौ, मंसिर २८ – चीनले आणविक हतियारको संख्या बढाइरहेको छ । विभिन्न मोर्चामा तनावको स्थिति रहँदा आणविक हतियारको आधुनिकीकरण कार्यक्रमलाई उसले गति दिएको हो ।
फेडरेसन अफ अमेरिकन साइन्टिस्टको न्युक्लीयर इन्फर्मेसन प्रोजेक्टका निर्देशक हान्स एम क्रिस्टेन्सेनको प्रतिवेदन न्युक्लीयर नोटबूक : चाइनिज न्युक्लीयर फोर्स २०२० मा चीनको आणविक महत्त्वाकांक्षाका विषयमा खुलासा गरिएको छ । चीनले पानीमुनि आणविक हतियार तैनाथीका लागि व्यापक मात्रामा पनडुब्बी निर्माण पनि गरिरहेको छ ।
प्रतिवेदनमा चीनका सबै आणविक बम र तिनको शक्तिका बारेमा उल्लेख गरिएको छ । चीनसँग जमीनबाट आणविक आक्रमण गर्ने १२ वटा क्षेप्यास्त्र छन् । आकाश र पानीबाट आणविक आक्रमण गर्न सक्ने क्षेप्यास्त्र पनि उससँग छ ।
सन् २०२० मा अमेरिकी सेनाले प्रकाशन गरेको प्रतिवेदनमा चीनसँग २०० वटा सक्रिय आणविक बम रहेको उल्लेख गरिएको थियो ।
क्रिस्टेन्सेनको रिपोर्टमा चाहिँ चीनसँग भएको कुल आणविक बमको संख्या लगभग ३५० रहेको उल्लेख छ । तीमध्ये २४० आणविक वारहेडहरूलाई अपरेसनल ल्यान्ड बेस्ड ब्यालिस्टिक क्षेप्यास्त्रमा फिट गरिएको छ ।
अनि ४८ वटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू समुद्रमा रहेको र २० वटा न्युक्लीयर ग्य्राभिटी बममा प्रयोग गरिएको उल्लेख छ । बाँकी वारहेडहरूलाई रिजर्भमा पनि राखिएको छ ।
FACEBOOK COMMENTS