काठमाडौँ ,११ फागुन- देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिले नै बनिसक्ने थियो ।
जनता भोका, नाङगा र बेरोजगार छन् ।
जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ ।
हिजो चप्पल लगाएर काठमाडौं छिरेका नेताहरुको काठमाडौंमा अलिसान महल र प्रशस्त बैंक ब्यालेनस छ ।
आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने, फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ?
बेला–बेलामा प्रश्न उठने गर्छ ।
प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो ।
यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन ।
कुनै पनि देशमा यति धेरै समयसम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ ।
दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो ।
तर हातमा लाग्यो शून्य ।
यो तरिकाले देश बन्दैन ।
सीमित नेता मोटाउने, जनता भोका हुने अवस्था कायम रहिरहेयो भने बिद्रोह हुन सक्छ ।
यो बिषयमा सबै गम्भिर हुन अनिवार्य छ ।
हामी कता जाँदैछौं र देशलाई कता लैजाँदै छौं ?
सत्तामा पुगेपछि नेताहरु एक आपसमा लड्ने काम धेरै पहिलेदेखि सुरु भएको हो ।
यो परम्परा र संस्कृति अझै कायम छ ।
जसले गर्दा देश र जनताले दु:ख भोग्नु परिरहेको छ ।
लामो समयदेखि जनताले कष्ट भोग्नु परिरहेको छ ।
राज्य सञ्चालकहरु इमान्दार भएनन् ।
यदि इमान्दार हुन्थे भने देश र जनताले पक्कै दु:ख पाउने थिएनन् ।
नेताहरुले जनताको मतको अपमान गरे ।
जनताप्रति उत्तरदायी भएनन् ।
देशका युवा खाडी तथा अन्य मुलुकमा पलायन छन् ।
यो रहर होइन, बाध्यता हो ।
राज्यकोषको दुरुपयोग भएको छ ।
कहाँ के कति खर्च भयो खोज्ने आँट कसैले गर्दैनन् ।
देश आर्थिकरुपमा धराशायी बन्दै छ ।
यो बडो चिन्ताको बिषय हो ।
हिजो चुनावमा वाचा गरेका सबै कुरा बिर्सिएर नेताहरु सत्ता स्वार्थमा लडिरहेका छन् ।
यो भन्दा लाज लाग्दो कुरा अरु के हुन सक्छ ?
हामी आफैं सोचौं ।
देश बनाउँछौ भन्नेहरु नै सत्ता स्वार्थमा लडिरहेका छन् ।
अब जनता आफैं जाग्नु पर्ने बेला भएको छ ।
यो तरिकाले देश उँभो लाग्दैन ।
देशको हितका बारेमा लेख्दा कसैलाई यो कुरा तितो लाग्न सक्छ ।
तितो भए पनि कुरा सत्य हो ।
जनताको पक्षमा कलम चलाउँदा कसैलाई नराम्रो लाग्छ भने मैले के भनुँ ?
राजनीतिको नाममा ब्यापार हुनु भएन ।
मैले भन्न खोजेको कुरा यो हो ।
राजनीतिक परिवर्तनपछि धेरै सरकार बने, तर जनताले देशमा सरकार भएको कुनै समय पनि महसुस गरेनन् ।
जति सरकार बने पनि नेता बने तर देश र जनता बन्न सकेनन् ।
नेता सम्पन्न बनेर मात्र देश बन्दैन ।
सबैभन्दा पहिला देश र जनता सम्पन्न हुनु परयो भन्ने मेरो भनाई हो ।
जबसम्म जनता सम्पन्न हुन सक्दैनन्, तबसम्म देश बन्दैन ।
FACEBOOK COMMENTS