काठमाडौं,कार्तिक १७ – नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भुकम्प प्रतिरोधात्मक तालिमका लागि इभेन्टस् एण्ड भेन्यू एशोसियसन अफ नेपालका प्रतिनिधिहरु सोमबार जापान प्रस्थान गर्दैछन् । भुकम्प प्रतिरोधात्मक तथा आपतकालीन वासस्थान व्यवस्थापन तालिम तथा अवलोकनका लागि चेम्बरको सहकार्यमा व्यवसायीक प्रतिनिधिहरु जापान प्रस्थान गर्न लागेका हुन ।
ओसाका युनिभर्सिटि जापानले नोभेम्बर ६ देखि १२ सम्म सञ्चालन गर्ने १ हप्ते विपत व्यवस्थापन सम्बन्धी संरचना तथा ज्ञान हसिल गर्ने उद्देश्यले नेपाल (ईभा)का पूर्व अध्यक्ष श्रीमान सिंहको नेतृत्वमा १२ सदस्सीय प्रतिनिधी मण्डल ओसाका प्रस्थान गर्ने भएका हुन् ।
जापान भुकम्पीय जोखिम भएको मुलुक हो । नेपाल चेम्बर अफ कमर्स, ईभा र नेपाल इमरजेन्सी डिजाष्टर प्रिभेन्सर एजुकेशन एड जापान (नेपा)बीच आपतकालिन प्रकोप रोकथाम व्यवस्थापनको लागि मैत्री सहयोग स्थापना गर्ने विषयमा भएको त्रिपक्षिय सम्झौता अनुरुप जापानले तालिम दिने भएको हो । नेपालमा गएको भुकम्पका बेला ईभाले भुकम्प पछिको समयमा उल्लेखनिय कार्य गरेकोले आगामी दिनमा अग्रिम सुरक्षात्मक तथा भुकम्प पश्चात प्रतिरोधात्मक उपलब्ध गर्ने प्रविधिको ज्ञानको लागि जापानले एक हप्ते तालिम दिन लागेको हो ।
नेपाल चेम्बर अफ कमर्सका जापानस्थित व्यापारिक प्रतिनिधि दिनेश श्रेष्ठको पहलमा तय भएको तालिममा संघका अध्यक्ष अनिल शर्मा सहित सुरेश लाल श्रेष्ठ, शिवभक्त रंजित, तेविन्द्र रत्न शाक्य, भक्तराज श्रेष्ठ, उत्तम प्रकाश शर्मा, राजेश श्रेष्ठ, सर्वज्ञ मुनी तुलाधर, कृष्ण प्रसाद पाण्डे, द्धारिका प्याकुरेल र नानी बाबु थापा सहभागी हुनेछन् ।
चेम्बर भवन जमलमा आज जापान जाने समूहलाई विदाई गर्दै चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले भुकम्प प्रतिरोधात्मक तालिमका लागि जापान पठाउन चेम्बरले भूमिका निर्वाह गर्न पाएकोमा आफू खुसि रहेको बताए । आगामी दिनमा यसै गरि अन्य व्यवसायी एंव उद्योगीहरुलाई विभिन्न शीपको लागि विभिन्न मुलुक सँग सहकार्य गर्ने कार्य भइरहेको जानकारी उनले दिए ।

कार्यक्रममा प्रतिनिधी मण्डलका प्रमुख सिंहले नेपालमा हुन सक्ने भुकम्पको सुरक्षात्मक कार्य र प्रतिरोधात्मक उपायहरुका लागि ईभा सधै अग्रणी भूमिकामा रहने उल्लेख गर्दै चेम्बर अफ कमर्सलाई धन्यवाद दिए ।
