काठमाडौं – चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण गर्ने काम औपचारिक रुपमा सुरु हुँदैछ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गर्न लागेको हो । यो बन्दरगाह निर्माण गर्न आशिष–साक्षी जेभीले जिम्मा पाएको छ ।
यसअघि बन्दरगाह बन्ने स्थानमा हिमाल सिमेन्ट कारखाना थियो । कारखानाले वातावरणीय प्रदुषण गरेको भन्दै स्थानीयले गरेको चर्को विरोध पछि सरकारी सिमेन्ट कारखाना नै बन्द हुन पुग्यो ।
यो परियोजनालाई विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको समितिका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिए ।
अबको डेढ वर्षभित्र यो बन्दरगाहको निर्माण सक्ने लक्ष्य छ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय रहनेछन् ।
बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो ।
अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाउँदैछ ।
यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने इन्जिनियर आचार्यले बताए । यो बन्दरगाह निर्माणपछि सामान आयात-निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ । यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्नेछ ।
बाहिरी चक्रपथ चोभार भएर जाँदैछ भने काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गलाई पनि यहाँ लिंक गर्ने योजना छ । यहाँ नै चीन र भारतबाट आउने रेललाई पनि जोड्ने योजना सरकारको छ ।
FACEBOOK COMMENTS