काठमाडौँ । आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ-आफ्ना नगर सभामा आ.व. २०७८–७९ को आय-व्यय अनुमान पेस गरेका हुन् ।
छ वटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबैभन्दा धेरै बजेट पेस गरेको छ । काठमाडौँ महानगरले १८ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यसैगरी पोखरा महानगरले छ अर्ब २८ करोड, ललितपुर महानगरले पाँच अर्ब ५५ करोड, भरतपुर महानगरले चार अर्ब ८१ करोड, विराटनगर महानगरले चार अर्ब १० करोड र वीरगञ्ज महानगरले तीन अर्ब ५५ करोड रुपियाँको बजेट बनाएको छ । छ वटै महानगरले कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् भने पूर्वाधार, शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएका छन् ।
ललितपुरमा भने बजेट प्रस्तुत गर्ने क्रममा विपक्षले सभा बहिष्कार गरेका थिए । बिहीबार सुरु भएको छैटौँ नगर सभामा महानगरपालिकामा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सहितका नगर सदस्यले नगर सभा बहिष्कार गरेका थिए । उक्त बहिष्कारपछि नगर सभा स्थगन भएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS