काठमाडौ – सरकारले ‘जनजनमा सेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ ।
रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माणपछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको सेयर दिने लक्ष्य राखेको हो । पछिल्लो जनगणनाअनुसार नेपालमा ५६ लाख घरधुरी रहेका छन् । यद्यपि त्यसमा केही वृद्धिसमेत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई आकर्षक प्रतिफल दिने गरी जलविद्युत् आयोजनाको चयन भइरहेको र केही समयभित्रै कार्यक्रमकै रुपमा घोषणा गरिने जनाएको छ । आर्थिकरुपमा नै लगानी गर्न सक्नेलाई पैसा र पैसा लगानी गर्न नसक्ने तर श्रम मात्रै योगदान गर्न सक्ने नागरिकलाई श्रममार्फत नै सेयर दिने गरी तयारी थालेको मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आम्दानीको आकर्षक स्रोतको जोहो हुने गरी सरकारले सबै नेपालीलाई सेयर दिने गरी आकर्षक आयोजनाको खोजी गरिएको जानकारी दिए । मन्त्री पुनले भने, “५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिन्छ । त्यसका लागि तयारी भइरहेको छ ।”
नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दबाबमा छनोट नगरिने समेत मन्त्री पुनको भनाइ छ । “आकर्षक आयोजनाको छनोट गरी ५६ लाख घरधुरीको सेयर लगानी सुनिश्चित हुने गरी राम्रो प्रतिफल दिने आयोजना निर्माण गर्ने छौँ, त्यसले अहिले वृद्धभक्ता पाएजस्तै राज्यको अगुवाइमा निर्माण हुने आयोजनामा सेयर लगानी गरी जनताले प्रतिफल पाउँछन्”, उनले भने ।
“विगतमा भनसुन, राजनीतिक प्रभाव र दबाबमा गलत आयोजना छनोट गर्दा प्राधिकरण बनाउने आयोजनाको लागत दोब्बर÷तेब्बर भएको छ भने निर्धारित समयमा सकिएको छैन, अब त्यस्तो हुने छैन, प्रतिस्पर्धी र आकर्षक आयोजना छनोट गरी निर्माण गरिने छ ।”
स्थानीय नागरिकले ठूलाठूला परियोजना बन्ने र आफूहरुले केही पनि लाभ पनि नपाएको भन्दै विरोध गरेपछि तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले १० प्रतिशत सेयर स्थानीयलाई छुट्याउनै पर्ने प्रावधान राख्यो । हाल निर्माण भइरहेका अधिकांश आयोजनाले स्थानीयवासीलाई दश प्रतिशत र आम नेपालीलाई १५ प्रतिशत सेयर प्रदान गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका अधिकांश आयोजनाले पनि स्थानीयवासीलाई सेयर बिक्री गरेको छ । केहीको भने प्रक्रियामा रहेको छ ।
रासस
FACEBOOK COMMENTS