(कुष्ण बहादुर अधिकारी नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो । ऐतिहासिक पृष्ठभूमि बोकेको नेपाल बैंक सरकारी स्वामित्वको बैंक पनि हो । पछिल्लो समय नेपाल बैंकको वित्तिय अवस्था निकै सुदृढ बन्दै गएको छ । यसै सन्दर्भमा, नेपाल बैंकको वित्तिय अवस्था , भावी कार्य योजना, लगानी प्राथमिकता आदी विषयमा केन्द्रित रहि कर्पोरेट पत्रिकाका सरोज ओझाले सिईओ अधिकारीसँग गरेको कुराकानी :
नेपाल बैंक लिमिटेडको अहिले आर्थिक तथा संरचनागत स्थिती बारे समग्रमा केहि बताइदिनुस् न ?
संरचनागत स्थिती बारे भन्नु पर्दा नेपाल बैंक लिमिटेड अहिले देशका ६५ जिल्लामा पुगेको छ । हाम्रो १७५ शाखा, २५ एक्टेन्सन काउन्टर र ११० एटीएम बुथबाट व्यवसायिक र सर्वसाधारण ग्रहाकहरुले सेवा लिइराख्नु भएको छ । त्यसै गरी बैंकको केन्द्रिय कार्यालय भित्र १८ वटा विभिन्न डिपार्टमेण्ट रहेका छन् । हामीले करिब १७ लाख ग्राहकहरुलाई हामीले सेवा दिदै आईरहेका छौं । आर्थिक पक्षका हामी एउटा स्वस्थ,सक्षम र सुदृढ बैंक भइसकेका छौं । हामीसँग करिब ३० अर्बको नेटवर्थ रहेको छ भने पूँजीगत रुपमा पनि हामी बलियो बैंकका रुपमा रहेका छौं । त्यसैगरि, सबै भन्दा कम वेसरेटको हिसावले हेर्दा पनि हामी दोस्रो अथवा तेस्रो स्थानमा रहेका छौं । एन पी को कुरा गर्दा पनि डिजाईरेबल लेवलमा छ तर पनि यसलाई घटाउदै जानूपर्छ भन्ने मान्यतामा हामी छौं । बैंकको कर्जा र बचत पनि प्रगति उन्मुख देखिन्छ । त्यसैले हामी विक्तिय हिसावले स्वस्थ अवस्थामा नै छौं ।
एक समय नेपाल बैंक लिमिटेड धरासायी स्थितीमा आएर राष्ट्र बैंकले टेकओभर गर्ने अवस्था समेत सृजना भयो ? त्यस चुनौतीलाई आत्मसात गर्दै बैंकलाई अगाडी बढाउन एउटा व्यवस्थापकको रुपमा तपाईको अनुभव कस्तो रह्यो?
५० को दशकमा नेपाल बैंकको व्यवस्थापनमा भएको अदुरदर्शिता तथा लोभ लालचका कारण र अन्य कारणले गर्दा बैंक धरासायी अवस्थामा पुगेको हो । त्यस समयमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक दुवैको वित्तिय अवस्था एकदमै नाजुक भएपछि राज्यले नै यी दुवै बैंकलाई पुन जागृत गर्न फाईनान्स रिफर्म कार्यक्रम ल्यायो । जस अन्तर्गत विदेशी व्यवस्थापन पनि एक थियो । विदेशी व्यवस्थापनले पाँच बर्ष यहाँको व्यवस्थापन सम्हालेर गएकोछ । उहाँहरुले बैकको व्यवसाय बृद्धि भन्दा पनि देशको कर्पोरेट गभर्नेन्सलाई कसरी मजबुत बनाउने भन्नेमा केन्द्रित रहेर काम गर्नुभयो । त्यस पश्चात नेपाल बैंकको व्यवस्थापन राष्ट्र बैंकले सम्हालेको थियो । हामी आफै पनि बैंकको रिफर्म पछि आएका कर्मचारी हौं । पुराना कर्मचारी ७० –८० जना मात्रै हुनुहुन्छ । हामी बैंकलाई राम्रो आर्थिक स्थितीमा ल्याउन मेहनत गरेका हौं । १० अर्ब नेगेटिभ नेटवर्थलाई सकारात्मक रुपमा ल्याउन हामीले तत्कालिन समयमा राईट सेयरहरु पनि जारी गर्नुपर्यो । अहिलेको अवस्थामा आईपुग्दा एफ पि ओ पनि जारी गरेको अवस्था छ । छ सात हजार कर्मचारीलाई चाहि साठिको दशकमा भि आर एस मार्फत व्यवस्थापन गरिएको थियो । हामीसँग करिब २३ सय कर्मचारी छन् भने अझै शाखा सञ्जालहरु पनि विस्तार भइरहेका छन् । त्यो समयमा बिग्रिएको आर्थिक अवस्थालाई पूर्ण रुपमा रिकभर गरिसकेका छौं । विग्रिएको छवीलाई सुधार गर्न हामीले धेरै मेहनत गर्नुपर्यो तर हामी अहिले सन्तुष्ट छौं ।
दुरदराजमा बैंकिङ्ग सेवाकोे पहूँच विस्तार गर्ने सरकारको रणनिती अनुरुप नेपाल बैंकले स्थानिय तहसम्म बैंकलाई पु¥याउन कस्तो रणनिती अवलम्बन गरेको छ ?
राष्ट्र बैंक र सरकारको निती अनुसार प्रत्येक स्थानिय निकायमा कम्तिमा पनि एउटा वाणिज्य बैंक पुग्ने निती छ । त्यस अन्तर्गत २७ वटै वाणिज्य बैंकलाई स्थानहरु विभाजन गरिएको थियो । सोही बमोजिम नेपाल बैंक मनाङको नार्खुमा पुग्न मात्र बाँकी रहेको छ । तोकिएको अन्य सम्पूर्ण क्षेत्रमा हामी पुगी सकेका छौं । मनाङमा ज्यादै न्यून जनसंख्या छ भने बैंक स्थापना गर्ने भवन समेत छैन् । हामीले गाँउपालिकासँग सहकार्य गरेर संभवत बैशाख जेठसम्म हामी पुग्छौं । अहिले सम्म त्यहाँ कुनै बैंक पनि पुगेको छैन् ।
प्रविधीको विकासले बैकिङ्ग क्षेत्रमा अवसर र चुनौैति दुवै छ भनिन्छ यसलाई कसरी लिनुभएको छ ?
हामीले अहिले मुख्य बैंकिङ्ग सफ्ट्वेयर नेपालकै प्रयोगमा ल्याएका छौ । अहिलेको अवस्थामा प्रविधीमा खर्च नगरि पनि हुदैन् भने प्रविधीले गर्दा जोखिम पनि बढेको छ । हामीले अहिले सुरक्षित र प्रमाणित प्रविधीलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौं । अहिले हामीसँग भएका प्रविधीले भोलीका दिनमा आउने चुनौतीलाई पार गर्न सक्दैन् कि भन्ने हिसावले यो भन्दा बढी सुरक्षित प्रविधी भित्र्याउन हामीले काम गरिरहेका छौं ।
इन्टरनेट नपुगेका विकट ठाँउमा बैंक स्थापना गर्न के के चुनौती छन् ?
अहिले हामी प्रविधी विना कुनै पनि बैंकिङ्ग कारोबार गर्न सक्दैंनौं । जुन ठाँउमा ईन्टरनेट पुगिसकेका छैनन् त्यहाँ पनि कुनै न कुनै नेटवर्क स्थापना गरेर मात्र बैंकिङ्ग कारोबार गर्न संभव छ । विकट ठाँउका ग्राहकमा प्रविधीको त्यति ज्ञान नभएका कारण हामी कहाँ मोवाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग भएता पनि उहाँहरुले प्रयोग गरेको पाईदैन् । तर हामीले सम्पूर्ण सेवा ग्राहकलाई दिनसक्ने अवस्थामा छौ ।
बैंकको कर्जा प्रवाह र निक्षेप संकलनको स्थिती कस्तो रहेको छ ?
यहि हप्ताको तथ्याङ्कको तुलना गर्ने हो भने र निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढि देखिन्छ । हाम्रोमा हेर्ने हो भने २.२ विलियन जति कर्जा बढेको छ । अहिलेको बैंकिङ्ग बजारमा कर्जामा सबै भन्दा कम व्याज दर लिने बैंकमा पर्दछौं भने निक्षेपमा पनि हामीले सबैभन्दा बढी व्याज बचतकर्तालाई दिइरहेका छौं । हामी उहाँहरुको पैंसाको राम्रो व्याजदर दिनु पर्छ भन्ने मान्यतामा छौं । अहिले आर्थिक क्रियाकलाप कम भएका कारण पनि कर्जा प्रवाह अघिल्लो बर्षको तुलनामा केहि कम भने देखिएको छ ।
कर्जा प्रवाहका प्राथमिकताका क्षेत्रहरु के के छन् ?
हामीले उत्पादन मुलक क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेका छौं । त्यसमा पनि साना र मझौला उद्योगहरु हाम्रो प्राथमिकतामा रहेका छन् । त्यसै गरी सरकारले प्राथमिकतामा राखेको कृषि क्षेत्र र सहुलियत पूर्ण कर्जा प्रवाह पनि हाम्रो प्रथमिकताका क्षेत्रहरु हुन् ।
ठूलो संख्यामा युवाहरु विदेशीदै आएको अवस्थामा युवावर्गलाई लक्षित गरेर बैंकले केहि कार्यक्रमहरु ल्याउन सक्छ कि ?
यो समस्या समाधानका लागि लामो समयको योजना ल्याउन आवश्यक छ । अहिलेको अहिले हामीले त्यसलाई रोक्न सक्दैनौ । हामीले उचित योजना लिएर आउने युवाहरुको व्यवसायका लागि लगानी गरिरहेका छौं । त्यसैगरि, सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा पनि हामीले उपलब्ध गराएका छौं ।
अहिले बिग मर्जको कुरा आइरहेको अवस्थामा सरकारी बैंकका लागि राष्ट्र बैंकले लिएको निती तथा निर्देशन कस्ता छन् ?
निश्चय पनि राष्ट्र बैंक सबै बैंकलाई मर्जको लागि आव्हान गरेको अवस्थामा सरकारी बैंकहरु पनि पर्दछन् । निजी तथा सरकारी दुवै किसिमका बैंकलाई गरिएको आव्हान हो । नेपालमा जनसंख्याको तुलनामा बैंक तथा वित्तिय संस्थाको संख्या बढी भएको हो कि भन्ने कुराहरु आएको छ । मर्जरले बैंकको संख्या घटाउने र बैकिङ्ग पहुँच बढाउने गर्दछ ।
बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्दै गर्दा अहिले सम्म गरेका कामलाई चाहि कसरी सम्झनु हुन्छ ?
हामीले अहिले ग्राहक केन्द्रित कामहरुलाई प्राथमिकताका रुपमा राखेका छौ । हामी अफिस समय पूर्ण रुपमा ग्राहकका लागि छुट्टाएका छौं । अफिसमा हुने नियमित मिटिङ्ग पनि हामीले अफिस समय अघि वा पछि गर्ने गरेका छौं । हामीले काम सुरु गर्दैगर्दा मामैजुद रहेका निती नियमहरु धेरै पुराना थिए त्यसलाई पनि समय सान्दर्भिक रुपमा परिमार्जन गरेका छौ । हामीले १२ वटा भिन्दा भिन्दै नितीहरु कार्यसमितीबाट पास गरिसकेको छौ भने अझै केहि लादैछौं । बैंक पूर्ण रुपमा प्रविधीयुक्त भएको छ । त्यसै गरी २२ –२३ बर्ष पछि बैंकले समयमै बार्षिक साधारण सभा सम्पन्न गर्न सक्षम भएको छ । हामी यो असार मसान्त सम्ममा दुई सय शाखा पु¥याउन पनि आक्रमक रुपमा लागि परेका छौं ।
बजारीकरणको सवालमा सरकारी स्तरका बैंकको तुलनामा निजी बैंकहरु आक्रमक देखिदै आएकोे अवस्था छ नि, होईन् ?
निजी बैंक र हाम्रो बैंकमा केहि तात्विक कुराहरु फरक हुन्छ । हामी निजी बैक जस्तो बजार हिस्सा बढाउने भन्दा पनि हाम्रो आन्तरिक सुशासनलाई बलियो बनाउने हो । नेपाल बैंक भनेको देशको नामसँग जोडिएको बैंक भएको कारणले गर्दा पनि हामीलाई सस्तो मार्केटिङ्ग आवश्यक छ भन्ने लाग्दैन । हामी जिम्मेवार बैंकिङ्गमा अरु बैंकहरुले पनि प्रेरणा लिन सक्नेगरी हामी काम गर्दछौ । हामीले हाम्रा साथीहरुलाई भन्ने गछौ कि, तपाईहरु बजार प्रतिनिधी पनि हो, कर्मचारी पनि हो, त्यसैले एउटा ग्राहकले सेवा लिएर बैंकबाट बाहिरिदाँ खुसीका साथ जाओस् । हामी सदैव ग्राहकको सेवाका लागि प्रतिबद्ध छौ ।
तपाईको यही संचारमाध्यमबाट म के संदेश दिन चाहन्छु भने पहिलेको जस्तो सरकारी कार्यालयमा ढिलासुस्ती हुन्छ भन्ने जुन आम धारणा छ, कमसेमक नेपाल बैंकमा एक पटक आएर सेवा लिएर गइदिनुहोस् अनि मात्र धारणा बनाउँनुहोला । हामीले सेवा र व्यापार दुवैलाई ट्रेडअफ गर्दै सर्वसाधरण जनताको आकांक्षालाई समेटेर अगाडी बढिरहेका छौं । हामी २३ बर्ष पछि अहिले सेयरधनीलाई लाभाशं दिन सक्ने भएका छौं र आगामी दिनमा यसको निरन्तरता दिन सकौं भन्ने हिसाबले काम गरिरहेका छौं । बैंक अहिले राम्रो दिशामा अघि बढिरहेको छ । यसका लागि हामीसँग सक्षम जनशक्ति र प्रविधी दुवै रहेको छ ।
FACEBOOK COMMENTS