काठमाडौं, पुस १५ – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा विघटनको सिफारिस हुनु र राष्ट्रपतिबाट त्यसलाई सदर गरिनुलाई ‘दुर्भाग्य’ को संज्ञा दिन्छन् । लामो राजनीतिक जीवन बिताएका कम्युनिस्ट नेता केसीले देशकै ठुलो कम्युनिस्ट पार्टीका रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको शक्ति संघर्ष र त्यसबाट उत्पन्न परिस्थितिले विदेशी चलखेल र प्रतिगमनकारीहरुको मनोबल बढाएको टिप्पणीसमेत गरे ।
प्रतिनिधिसभाको आयु दुई वर्षभन्दा बढी भएको अवस्थामा संसदमै झण्डै दुई तिहाई बहुमत रहेको पार्टीका प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नु संवैधानिक र राजनीतिक रुपमा पनि उचित नभएको उनले बताए ।
रातोपाटीसँग कुरा गर्दै उनले संसद विघटन गरेर सरकारले अत्यन्त खतरनाक चाल चलेको टिप्पणीसमेत गरे । उनले भने, ‘आफ्नो पार्टीको विधि–विधानलाई समेत नाघेर, त्यसमा पनि आफ्नो पार्टीभित्र अल्ममतमा पर्ने डरले यस्तो सार्वभौम संसद, जसको आयु अझै लामो छ, त्यसलाई विघटन गराएर निर्वाचनमा लैजाने काम अत्यन्तै गलत हो । यस्तो गर्नु हुँदैनथ्यो ।’
अध्यक्ष केसीका अनुसार कुनै चिजको विनाश र विकासको तत्व आफैभित्र हुन्छ, बाह्य तत्व गौण हो । सत्तारुढ दल नेकपाभित्र सत्ता र शक्तिको महत्वाकांक्षाका कारण टकराव देखिएको र पार्टीमा देखिएको अन्तरविरोधका कारण विदेशीहरुले स्वाभाविक रुपमा खेल्ने अवसर पाएको उनले बताए ।
विगतमा पनि विदेशीहरुले नेपालमा राजनीतिक अस्थिरता बढाउने र चलखेल गर्ने गरेको उनले सुनाए । ‘कहिले अलि धेरै, कहिले अलिक कममात्र हो, अहिले पनि केही न केही विदेशी तत्वले काम गरेकै छ,’ उनले भने, ‘मुलतः हाम्रो कारणले विदेशी तत्व सक्रिय हुने अवस्था आएकोचाहिँ पक्कै हो ।’
FACEBOOK COMMENTS