काठमाडौं, मंसिर १३ – ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारका पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
पर्याप्त प्रशोेधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो ।
अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले यस्ता कम्पनीका सम्बन्धमा प्रशासनमा उजुरी परेको र अनुगमन भइरहेको बताए । ‘अनुगमनका क्रममा उपभोक्ता स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएको छ । यस्ता उत्पादकलाई कारबाहीको दायरामा ल्याउनेछौं,’ श्रेष्ठले भने ।
अनुगमनलाई निरन्तरता दिँदै अनुगमन टोलीले बुधबार टोखा नगरपालिका क्षेत्रका पानी उत्पादक कम्पनीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पानी उत्पादक कम्पनीले न्यूनतम मापदण्ड पूरा नगरेको फेला परेका छन् । यससँगै टोलीले ‘अक्वा बुद्धभूमि’ र ‘अक्वा सनसाइन’ कम्पनीमा सिलबन्दी गरी कारबाही थालेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी निर्देशनलाई पानी उत्पादकले बेवास्ता गर्दै आएको बताउँछन् । ‘पटक–पटकको बेवास्तालाई विभागले गम्भीर रूपमा लिएर कारबाही गर्नेछ,’ सुवेदीले भने ।
गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले अधिकांश पानी उद्योगले गुणस्तर कायम गर्न आवश्यक मापदण्ड पूरा नगरेको पाइएको बताए । कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलको पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको उनले बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानी उत्पादकले कागजात दुरुस्त नराख्ने, बिक्री बिल जारी नगरी कारोबार गर्नेलगायतको समस्या रहेको बताए । विभागका अधिकृत जितबहादुर भण्डारीले कतिपय कम्पनीमा साइनबोर्डसमेत नराखी पानी उत्पादन गर्ने गरेको पाइएको बताए । ‘यस्ता कम्पनीलाई विभागले आवश्यक कारबाही गरिरहेको छ,’ उनले भने ।
उपभोक्तावादी संघसंस्थाले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगबारे जनचेतना जगाउन आवश्यक भएको जनाए ।
काठमाडौं उपत्यकाभित्र १ लाख २० हजार जार र २ लाख बोतलका पानी दैनिक रूपमा खपत भइरहेको अनुमान बोतल तथा जार एसोसिएसनको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS