काठमाण्डौँ –सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो ।
सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारबाहीको निर्णय गरेको थियो ।
सोहीअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृति तयारी गरेको हो ।
सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असूली रोक्न दबाब दिने र कारबाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबै खाले कामदारको श्रम स्वीकृति रोकेको थियो ।
यस्तो गैरकानूनी कार्य गर्ने संस्थाविरुद्ध रु तीन अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएर न्यायिक निरुपणको प्रक्रिया चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS