काठमाडौं, बैशाख २२- नेपाल राष्ट्र बैंकले जेठ १ देखि सरकारी कारोबारको नियमित रिपोर्टिङ नयाँ ढाँचा अनुसार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।राष्ट्र बैंकले आइतबारबार एक परिपत्र जारी गर्दै सम्बन्धीत बैंकहरुलाई यस्तो निर्देशन दिए हो ।
राष्ट्र बैंकले बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि नयाँ ढाँचा बमोजिम राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि राष्ट्र बैंककै तोकिएका कार्यालयमा अनिवार्य रुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

यसअघि बैंकले वाणिज्य बैंकहरुलाई बैशाख २ गते १० कार्यदिनभित्र सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबारको लागि खाता खोेल्न तथा सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको थियो ।
साथै, हाल इमेलमार्फत राष्ट्र बैंकसमक्ष सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको तथा सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकोले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीहरुको व्यक्तिगत इमेलमार्फत समेत प्रतिवेदन पेश गर्ने गरेकोमा अब उप्रान्त सरकारी कारोबारसम्बन्धी प्रतिवेदन पेश गर्न एउटा छट्टै इमेल आइडीको व्यवस्था गरी सोही आइडीमार्फत मात्र पत्राचार गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

