काठमाडौं, २६ कार्तिक – अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समूहका व्यक्तिहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् । ‘ यसअघि अमेरिकी औषधी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । फाइजरले अब अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए)बाट स्वीकृति लिने प्रक्रिया चाँडै अघि बढाइने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी अन्त्यको प्रयासलाई तिव्रता दिन फास्ट ट्रयाकबाट भ्याक्सिनलाई स्वीकृति दिइने यसअघि नै बताएका थिए, अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख ४० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १ करोडभन्दा धेरै संक्रमित भइसकेका छन् ।
सन् १९८४ देखि एलर्जी र संक्रामक रोग सम्बन्धी राष्ट्रिय इन्स्टिच्युटका निर्देशक रहिआएका फाउची ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत हुन् । भ्याक्सिनले स्वीकृति पाएसँगै आफु यसको डोज लिने घोषणा उनले गरेका छन् । फाउचीका अनुसार परिवारका सदस्यहरुलाई पनि स्वीकृति पाइसकेपछि भ्याक्सिन लगाउन उनले सल्लाह दिएका छन् । ‘म फाइजरलाई विश्वास गर्छुु । म एफडिएलाई विश्वास गर्छु । त्यहाँ मेरा दशकौं देखिका वैज्ञानिक साथीभाई छन्,’ उनले भनेका छन् ।
FACEBOOK COMMENTS