काठमाडौं,मंसिर १२- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय मातहतको यातायात व्यवस्था विभागबीच टुटल, पठाओजस्ता राइड सेयरिङ रोक्ने विषयमा विवाद देखिएको छ । यसअघि विभागले बन्द गर्ने तवरको सूचना जारी गरेकामा मन्त्रालयले यथावत् रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
विभागले केही दिनअघि मात्र सार्वजनिक सूचना जारी गर्दै एक प्रयोजनका लागि दर्ता भएर अर्कै प्रयोजनका लागि प्रयोग गरिए कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसपछि ट्राफिक प्रहरीले एक जना राइड सेयरिङ गरेको मोटरसाइकलमाथि कारबाहीसमेत गरेको थियो ।
विभागले राइड सेयरिङ रोक्ने सूचना जारी गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने टुटल, पठाओलगायतका राइड सेयरिङ नरोक्न निर्देशन दिएका हुन् ।
मन्त्री नेम्वाङले बुधबार मन्त्रालयमा बोलाएर यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई डेढ वर्षदेखि सञ्चालन हुँदै आएको टुटल र पठाओ नरोक्न निर्देशन दिए । उनले ऐननियममा संशोधन गर्नुपर्ने भए प्रतिवेदन बुझाउन निर्देशन दिँदै प्रतिवेदन नआउन्जेलसम्म पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशनसँगै अब टुटल र पठाओ जस्ता राइड सेयरिङ नरोकिने भएको छ । यसअघि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टुटल र पठाओमाथि रोक लगाएको थियो । त्यसको चौतर्फी विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि सेवा जारी राख्न निर्देशन दिएका थिए । उनले कानुनी मापदण्डमा ल्याएर सञ्चालन गर्न भन्दै तत्काल नरोक्न निर्देशन दिएपछि टुटल र पठाओ सञ्चालन हुँदै आएका छन् ।
मन्त्रालयले बुधबार टुटल र पठाओलगायतलाई व्यवस्थित गर्न नयाँ कार्यविधि बनाउने जिम्मा पनि विभागलाई दिएको छ ।
यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ यातायात व्यवस्था विभागमा दर्ता छैनन् भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका छन् । टुटल र पठाओमा करिब ५० हजार राइडर आबद्ध छन् ।रातो प्लेटका सवारीसाधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने विभागले जनाएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS