काठमाडौं, मंसिर १६ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा लिक्विड अक्सिजन प्लान्ट जडान गरिएसँगै एकै पटक ५० बिरामीलाई अक्सिजन दिन सकिने सुविधा भएको छ। कोरोना संक्रमण भई गम्भीर भएका बिरामीलाई सहज रुपमा अक्सिजन दिनका लागि अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गरेको हो। अस्पतालले करिब डेढ करोडको लागतमा सो प्लान्ट जडान गरेको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले प्लान्ट जडान भएपछि कोरोना संक्रमण भई गम्भीर भएका र अक्सिजनको मात्रा कम भएका ५० जना बिरामीलाई एकै पटक अक्सिजन सुविधा उपलब्ध भएको बताए।
उनले भने, ‘कहिलेकाहीँ लिक्विड अक्सिजन सकिएर सिलिन्डर अक्सिजन प्रयोग गर्दा दिनमा २०० वटा सिलिन्डर लाग्छ। ५० जना बिरामीले अक्सिजन लिँदा हरेक १० मिनेटमा एउटा चेन्ज गर्नुपर्ने हुन्छ। सिलिन्डरबाट अक्सिजन दिँदा प्रेसर पनि नपुग्ने भएकाले लिक्विड अक्सिजन राखेका हौँ।’
उनले अक्सिजन सिलिन्डर बोकेर छिनछिनमा परिवर्तन गर्न समेत समस्या हुने बताए। ‘पिपिई लगाएर गह्रौं सामान यताउता सार्दा थकाइ लाग्ने, छिनछिनमा सकिने हुँदा परिवर्तन गर्नुपर्ने र बिरामीलाई प्रेसर पनि नपुग्ने हुन्छ। अहिले निकै सहज भएको छ,’ उनले भने।
उनले यो अस्पताल नेपालमा लिक्विड अक्सिजन प्लान्ट जडान गर्ने पहिलो अस्पताल भएको बताए। उनले भने, ‘अक्सिजन जेनेरेटर प्लान्ट र सिलिन्डरबाट एकै पटक ५० भन्दा बढी बिरामीलाई अक्सिजन दिन सम्भव हुँदैन। त्यसैले लिक्विड अक्सिजन प्लान्ट जडान गरेका हौँ।’
प्लान्ट जडान भएपछि हालसम्म टेकु अस्पताल हालसम्म करिब ८ सय जना संक्रमितको उपचार भइसकेको छ। तीमध्ये २७ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।
हरेक शय्यामा अक्सिजन दिँदा हरेक पटक अक्सिजन सिलिन्डर चेन्ज गर्नुपर्ने हुन्छ। हरेक पटक स्वास्थ्यमकर्मीलाई संक्रमणको जोखिम नहोस भनेर प्रत्येक बेडमा अक्सिजन, पेस र सक्सन मेसिनहरु राखिएको उनले बताए।
FACEBOOK COMMENTS