काठमाडौं, ४ साउन -काठमाडौंले बालुवाटार टुडालदेवीस्थित् गुरुमा मार्गमा विगत ४२ वर्षदेखि स्थायी रुपमा बसोबास गर्दै आएकी ८२ वर्षीया वृद्धा ठूलीमाया सुनुवार (परौठा आमा) लाई टोल सुधार समितिका अध्यक्ष श्रीनारायण प्रजापति र घरजग्गा कारोबार गर्ने राजकुमार थपलियाले जबरजस्ती विस्थापित गरेकोमा आपत्ति जनाउँदै तत्काल परौठा आमालाई क्षतिपूर्तिसहित पूर्नस्थापित गर्नुपर्ने माग गरेको छ ।
आईतबार पत्रकार सम्मेलनमा परौठा आमामाथि ठूलो ज्यादती र अन्याय भएको निश्कर्ष निकाल्दै तत्काल न्याय दिलाउन सरकारसमक्ष माग गरेका हो । पत्रकार सम्मेलनमा अध्यक्ष सुमन लिम्बुले परौठा आमाले विगत चार दशकभन्दा बढि समयदेखि उक्त जग्गा भोगचलन गर्दै आएको र २०४५ सालको नक्शामा कित्ता नम्बर १२८ मा पूरानो माटोको घर देखिएको जनाए ।
उनले भने,‘उहाँ आमाको नागरिता पनि वडा नम्बर ४ कै छ । मतदाता परिचयपत्रपनि यही वडाको छ । यही परिचयपत्रहरुमा १०७९ भनेर घर नम्बर पनि उल्लेख गरिएको छ । विजुली बक्ति र खानेपानीको बिलमा पनि यो घर उहाँकै नाममा दर्ता छ । सरकारबाट खाईपाई आउनुभएको वृद्धभक्ता लगायतका सुविधापनि यही वडाबाट प्राप्त गर्दै आउनुभएको छ । यी सबै कुराले यो उहाँकै घर जग्गा हो भन्ने कुरा प्रमाणित हुन्छ ।’
उनले ‘परौठा आमा’लाई न्याय दिलाउने अभियानमा आफूहरु होमिईसकेकोले न्याय नदिलाएसम्म यो अभियान समाप्त नहुनेपनि विश्वास दिलाए र परौठा आमालाई न्याय दिलाउने अभियानमा सबैको साथ र सहयोग होस भन्ने उनले आग्रहसमेत गरे । उनले भने,‘परौठा आमाका छोराछोरीहरुको पनि सबैले यही वडा नम्बर ४ कै नागरिकता छ ।’
क्लबका अध्यक्ष लिम्बुको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘अचम्मको कुरा, ४२ बर्षदेखि स्थायी रुपमा घरजग्गा किनेर बसोबास गर्दे आउनुभएको सुनुवार परिवारको उक्त जग्गा उपभोग र भोगचलन गर्ने अधिकार छैन भने सोही जग्गाको पछाडी पट्टी नया घर निर्माण गर्ने राजकुमार थपलियाको उक्त जग्गासहित बाटोकोसमेत जग्गा उपभोग गर्न अधिकार कसरी भयो ? के वडाको जनप्रतिनिधीहरुको सल्लाह र सहमतिबिना यत्रो ठुलो निर्णय आफै गर्ने ती दुई व्यक्तिहरुलाइ अधिकार छ ?के देशमा न्याय , सत्य र कानुन छैन ?’ कार्यक्रममा उपाध्यक्ष गोकुल भण्डारीले क्लबको तर्फबाट प्रेषित विज्ञप्ती वाचन गरेका थिए ।
कार्यक्रममा पीडित भनिएका ठूलीमाया सुनुवार (परौठा आमा) ले आफूमाथि ठूलो अन्याय भएको गुनासो पोखिन् र विगत ४२ वर्षदेखि आफूले ८० हजार रुपैयाँमा किनेर भोगचलन गर्दै आएको घरजग्गा आज आएर यसरी जबरजस्ती र ललाईफकाई, र डर, धम्की देखाएर लकडाउनकै समयमा विस्थापित गरिएको उनको गुनासो छ । उनले आफूलाई टोल सुधार समितिको मान्छे र भूमाफीया मिलेर यसरी विस्थापित गरिएको भन्दै न्यायको लागि राज्यसँग अपिल गरिन् । उनले भनिन्,‘मलाई आज आफ्नै घरजग्गाबाट विस्थापित गरियो । मेरो छोरोसमेत घरमा नभएको बेलामा मलाई यसरी विस्थापित् गरिएको हो । अब म खुल्ला आकाशमुनि सुत्न बाध्य भएको छु । परौठा बनाएर बेच्ने सानो पसल थियो। त्योपनि अहिले बन्द भयो । अब मेरो जाने ठाउँ कहीँ पनि छैन् । म जनप्रतिनिधिहरुकै घरमा गएर ओछ्यान लगाएर सुत्न बाध्य हुनेछु ।’ उनले आफूलाई पूर्नस्थापित गराउनको लागि देशभरिका सम्पूर्ण न्यायप्रेमी जनसमूदायलाई अपिलसमेत गरेकी छिन् ।
FACEBOOK COMMENTS