काठमाडौं, २ फागुन- अमेरिकी माथिल्लो सदन सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोग पारित हुनका लागि चाहिने दुई तिहाई मत जुट्न सकेन ।
रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मदान गरे पनि दोषी ठहर गर्नका लागि चाहिने दुई तिहाईका लागि १० सिनेटरको मत पुगेन । माथिल्लो सदन सिनेटमा १०० सदस्य रहेकोमा महाभियोग पारित हुनका लागि दुई तिहाई अर्थात ६७ सदस्यको मत चाहिन्छ ।
गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकलाई उक्साएको अरोपमा ट्रम्पमाथि लागेको महाअभियोगमा उनलाई दोषी ठहर गर्ने पक्षमा ५० डेमोक्र्याट तथा सात रिपब्लिकन सिनेटरले मत दिएका हुन् ।
सिनेटका बहुमत सदस्यले दोषी ठहर गर्ने पक्षमा मत दिएका हुन् । ४३ रिपब्लिकन सिनेटर भने ट्रम्पको साथमा देखिए ।
सिनेटबाट आफू जोगिएपछि ट्रम्पले वक्तव्य जारी गरेर महाअभियोगको निन्दा गर्दै इतिहासमै भएको सबैभन्दा ठूलो ‘विच हन्ट’ को शंज्ञा दिए ।
ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको हो ।
अमेरिकी इतिहासमा दुई पटक महाअभियोग लाग्ने उनी पहिलो राष्ट्रपति हुन् । तर दुवै पटक उनले मुक्ति पाएका छन् । यो पटक भने सात रिपब्लिकन सिनेटरले महाअभियोगको पक्षमा मत दिए ।
ट्रम्प सिनेटबाट दोषी ठहर भएको भए आउँदा दिनमा कुनै पनि पदका लागि चुनाव लड्न नपाउने गरि सिनेटले प्रतिबन्ध लगाउने थियो ।
मतदानपछि सिनेटमा रिपब्लिकन लिडर मिच म्याकोनलले संसद भवनमा भएको आक्रमणका लागि ट्रम्प दोषी रहेको र त्यसका लागि उनले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताए । तर उनले दोषी ठहर नगर्ने पक्षमा मत दिएका थिए । तर अदालतले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना रहेको चेतावनी उनले दिए ।
एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान जाने गरि संसद भवनमा भएको आक्रमणमा ट्रम्पको भूमिका स्पष्ट रहेको र उनलाई उन्मुक्ति दिनु अति खतरनाक हुने भन्दै हाउस डेमोक्र्याटिक म्यानेजरहरुले चेतावनी दिएका थिए । तर दोषी ठहर गर्नका लागि आवश्यक रिपब्लिकन सिनेटरको साथ हुन सकेन ।
जो बाइडेनसँग पराजित भएको चुनावी नतिजा अस्वीकार गरेका ट्रम्पले बिना प्रमाण धाँधलीको आरोप लगाउँदै आफ्ना समर्थकलाई नतिजा उल्ट्याउनका लागि संसद भवनमा बाइडेनको जित आधिकारिकता प्रदान गर्ने प्रक्रिया रोक्न उक्साएका थिए ।
FACEBOOK COMMENTS