काठमाडौं, कात्तिक २९ – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् ।
गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् ।
बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो ।
पुल र सडक बनाउने ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्री सामान आपुर्तिकर्ता र मजदुरहरुलाई तिर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबिहिन भएपछि अलपत्र परेको स्थानीयबासीले गुनासो गरेका छन् ।
स्थानीय दिपक कार्कीले सम्बन्धित निकाय र आयोजनाको बेवास्ता तथा ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन नगरेकाले सडक र पुल अलपत्र परेको बताए ।
FACEBOOK COMMENTS