काठमाडौं, मंसिर २१ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
नाकाबन्दीका समयमा डिजेल–पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे ।
सरकारले ऊर्जा दशक २०७५–२०८५ कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उहाँले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने बताए । १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो ।
मन्त्री पुनले वर्तमान सकार बनेपछि नेपालले भारत, चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको चर्चा गर्दै विद्युत बढी हुँदा क्षेत्रीय बजारमा निर्यात र अपुग हुँदा आयात गरिने बताए ।
चालु आर्थिक वर्षमै थप एक हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएर कूल जडित क्षमता २ हजार ६ सय मेगावाट हुने उल्लेख गरे ।
FACEBOOK COMMENTS