काठमाडौं । ढाकाको आईएफआईसी बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकको सबै सेयर बिक्री गर्ने भएको छ । एनबीको विदेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको एनबी बैंकको सम्पूर्ण सेयर बिक्री गर्ने भएको हो ।
यससँगै आईएफआईसीले ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । साथै, यो सहित आर्थिक वर्ष २०७७/७८ मा पाएको बोनस सेयर समेत बिक्री गर्ने जनाएको छ ।
साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली र आईएफआईसी बैंकसँग भएको संयुक्त लगानी सम्बन्धी सम्झौता बमोजिम बिक्रीमा रहेको संस्थापक सेयर किन्ने पहिलो हक अन्य संस्थापक सेयरधनीको हुने छ । यससँगै सेयर किन्न इच्छुक रहेका एनबीका अन्य संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । उनीहरुले उक्त निवदेनमा अन्य विवरणको अतिरिक्त कर चुक्ता गरेको आम्दानी र सेयर खरिद गर्न चाहेको रकम समेत उल्लेख गरेको कागजात एनबी बैंकको केन्द्रिय कार्यालय काठमाडौंको कमलादीमा बुझाउनु पर्ने बैंकले जानकारी गराएको छ ।
यदि उक्त सयमभित्र कसैको पनि निवेदन नपरेमा वा प्रर्याप्त निवदेन प्राप्त नभएमा वा प्राप्त निवेदन रितपूर्वक नभएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । उक्त आवेदन स्वीकार गर्ने वा नगर्ने अधिकार भने सेयर बिक्रेता आईएफआईसी बैंकसँग रहने बैंकले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS