काठमाडौं, पुस २३ – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले तानाशाह चुनावको तिथि तोकेर जनतामाझ नजाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन्। राष्ट्रिय सभामा बोल्दै उनले निरंकुशता, अधिनायकवाद र तानाशाहतर्फको यात्रामा प्रधानमन्त्री ओली रहेको भन्नु पूर्वाग्रहपूर्ण दृष्टिकोण रहेको बताएका हुन्।
उनले भने, ‘कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीकाे यस कमदलाई निरंकुश, अधिनायकवाद र तानाशाहतर्फको यात्राको रुपमा अर्थ्याउने र भ्रम छर्ने कोशिस गरिरहेका छन्। यो आरोप हो। यो आग्रहपूर्ण दृष्टिकोण हो। कुनै पनि तानाशाह तिथिमिति तोकेर चुनावमा जाँदैन। जनता माझमा जाँदैन।’
उनले नेपालको राजनीतिक इतिहासमा दलीय प्रवृत्तिको पुनरावृत्ति भएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीको शक्तिशाली सरकारविरुद्ध बन्चरो चलाउने काम भएको भन्दै आज केपी ओली र कुनै बेला विपी कोइरालाले यस्तै समस्या भोगेको उल्लेख गरे।
जनप्रतिनिधिमुलक अरु संस्था राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय सरकार रहेको भन्दै प्रतिनिधिसभा विघटनलाई तानशाहतर्फको यात्राका रुपमा बुझ्न नहुने बताए। प्रधानमन्त्री ओलीले रहर र लहडले उक्त कदम नचालेको उनले बताए। उनले भने, ‘यो रहर र लहडले होइन। भारी मनले गरेको काम काम हो। पार्टीभित्रैबाट काम गर्न दिइएन। आफ्नै नेतृत्वविरुद्ध विरोध गरेर आनन्द लिइयो । अवरोध गरियो, किचकिच गरियो।’
उनले प्रतिनिधि सभा दाउपेचको अखडा बनाउन थालिएको र पद भागबन्डाको दुष्चक्रमा पार्न खोजिएकाले विघटन गर्नुपरेको बताए। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्ने दाबी गर्दै उनले भने, ‘संसद विघटनका विषयमा संविधानमा व्यवस्थै छैन भन्ने गलत हो। कुनै बहुमतको प्रधानमन्त्रीले आफ्नो सरकारले काम ठान्दछ र संसदमा वैकल्पिक शक्ति देख्दैन। उसले विघटन गर्न पाउँछ।’
FACEBOOK COMMENTS