काठमाडौं, चैत ५ –तान्जानियाका राष्ट्रपति जोन मागुफुली राजधानी दार एस सलामको एक अस्पतालमा बितेको जानकारी बुधवार उपराष्ट्रपतिले दिएकी छन् । मागुफुली ६१ वर्षका थिए । राष्ट्रपति जोन मागुफुली विगत १० वर्षदेखि मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो र त्यसैकारण उहाँको मृत्यु भयो,’ सामिया सुलुहु हसनले टीभीमा सम्बोधन गर्दै बताइन् । राष्ट्रपतिलाई मजेना अस्पतालमा उपचार गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिइन् । उनले १४ दिनको राष्ट्रिय शोकको पनि घोषणा गरेकी छन् । हसन कायममुकायम राष्ट्रपति बनेकी छन् । उनको शपथग्रहणको घोषणा गरिएको छैन तर उनी देशको पहिलो महिला राष्ट्रपति बन्दैछिन् । मागुफुली हप्तैपिच्छे आइतवार चर्च जाने गर्थे तर फेब्रुअरी २७ देखि उनलाई देखिएको थिएन । उनी बिरामी परेको र विदेशमा उपचार गराइरहेको अनुमान थियो ।
भ्रष्टाचारविरुद्धको अडान तथा कट्टरपन्थी नीतिका कारण बुलडोजर नाम पाएका मागुफुली सन् २०१५ को अक्टोबरमा तान्जानियाका पाँचौं राष्ट्रपति बनेका थिए ।तर भ्रष्टाचारविरोधी उनको अडानप्रति जनताको उत्साह लामो समय रहेन किनकि उनले लोकतन्त्र तथा विरोधी स्वरहरूलाई दबाउन शुरू गरे ।
कोरोना महामारी शुरू हुँदा मागुफुलीले देशमा भाइरसको गम्भीरतालाई बेवास्ता गरे अनि नागरिकहरूलाई कोरोना भागोस् भनी प्रार्थना गरे । यो शैतानी भाइरस जिसस क्राइस्टको शरीरमा बस्न नसक्ने उनले बताए । देशमा कोरोनाका पोजिटभ केसहरू त्रुटिपूर्ण टेस्ट किटका कारण भएको उनले आरोप लगाएका थिए ।
जुन महिनामा उनले ईश्वरको कृपाले कोरोनाभाइरस निर्मूल पारेको दाबी गरेका थिए र विदेशी खोपहरूको सुरक्षामा प्रश्न उठाएका थिए । उनले देशमा खोप ल्याउने कुनै योजना सार्वजनिक गरेनन् र घरेलु उपचार तथा बाफ लिने कामलाई जोड दिए ।
गत अप्रिल महिनादेखि तान्जानियाले कोभिड–१९ का कुनै पनि आँकडा सार्वजनिक गरेको छैन । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको आँकडा प्रकाशन गर्न र सार्वजनिक स्वास्थ्यका उपाय बलियो बनाउन तान्जानियालाई आह्वान गरेको छ ।
FACEBOOK COMMENTS