काठमाण्डौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा खानेकुरा दिएर पूजा गरी मनाइएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।
यसैबीच आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए ।
यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।
तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।
FACEBOOK COMMENTS