काठमाडौं,पुस १४- असोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महीनाको अवधिमा आफ्नो फोरजी सेवाअन्तर्गत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ । मंगलवारसम्मको तथ्यांकअनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो संख्या मात्र ८ लाख थियो ।
पछिल्लो समय फोरजी ग्राहकको संख्या ह्वात्तै बढ्नुमा टेलिकमले यो सेवा मुलुकभर पु¥याएपछि यसअघि थ्रीजी सेवा लिइरहेका ग्राहकहरू फोरजीमा स्तरोन्नति हुनु प्रमुख कारण हो । नेपालमै पहिलो पटक २०७३ पुस १७ गते फोरजी सेवा शुरू गरेको टेलिकमको यो सेवा असोजको दोस्रो सातासम्म राजधानी काठमाडौं र पोखरामा मात्र सीमित थियो ।
टुजी, थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई फोरजीमा रूपान्तरण, सिम रिप्लेसमेन्ट र नयाँ फोरजी सिम वितरण गरी तीन प्रक्रियाबाट टेलिकमले फोरजी ग्राहक बढाउँदै लगेको छ । टेलिकमका अनुसार असोजयता फोरजीमा आबद्ध भएकामध्ये ७ लाख ग्राहकले नयाँ फोरजी सिम लिएका हुन् ।
टेलिकमले हाल ६२ जिल्लाका मुख्य शहर र नगरपालिकाका एक हजार ५४ भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिसकेको छ । फोरजीलाई देशव्यापी बनाउन कम्पनीले २०० भन्दा बढी नयाँ बीटीएस टावर निर्माण गरेको छ । फोरजी परियोजना अन्तर्गत कम्पनीले ४ हजार २०० टावरमा फोरजी प्रविधि जडान गर्ने लक्ष्य राखेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘हाल मुलुकभर फोरजी सेवा विस्तारका लागि १०४ टोलीले एकैचोटि काम गरिरहेको छ,’ उनले बताए ।
टेलिकमले फोरजी परियोजनालाई गति दिन नयाँ बीटीएस टावर जडानमा तीव्रता दिएको छ । करीब १९ अर्ब रुपैयाँ लगानीमा ६५ लाख फोरजी ग्राहक थप गर्ने लक्ष्यसहित गत वर्षको माघदेखि नेटवर्क विस्तारको परियोजना टेलिकमले अगाडि बढाएको थियो ।
टेलिकमले २०७५ माघमा दुई चिनियाँ कम्पनी – सीसीएसआई र जेटीई कर्पोरेशनसँग फोरजी सेवा विस्तारका लागि सम्झौता गरेको थियो । तीमध्ये सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तार र जेटीई कर्र्पोरेशनले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् । रेडियो एक्सेस नेटवर्कले प्रयोगकर्ताको डिभाइसलाई मुख्य टावरहरूसँग जोड्ने काम गर्छ भने कोर नेटवर्क सेवाप्रदायकको आफ्नो नेटवर्कबीच हुने संयोजन हो ।
सम्झौता अनुसार १ वर्षभित्र देशैभर फोरजी विस्तार गर्नुपर्ने जिम्मा यी दुई कम्पनीको हो । तर भौगोलिक जटिलताको कारण काम अगाडि बढ्न केही ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताए । उनका अनुसार उच्च हिमाली भेगमा हिउँ र चिसोका कारण फोरजी सेवा विस्तार गर्न सम्भव नभए पनि अन्य क्षेत्रमा फोरजी विस्तारले गति लिएको छ । आजको आर्थिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS