काठमाडौं, चैत १६ – भारतले आइतबार इङ्ल्याण्डलाई तेस्रो एकदिवसीय खेलमा ७ रनले पराजित गर्न सफल भएको छ । योसँगै भारतले ३ खेलको एकदिवसीय शृङ्खलालाई २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । भारतले पाहुना टोलीलाई क्रिकेटको तीनै फर्म्याटमा पछि पार्न सफल रह्यो । यसअघि टेस्ट शृङ्खलालाई ३–१ ले जितेको भारतले टी–२० शृङ्खला ३–२ ले जितेको थियो ।
अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै ४८.२ मा अलआउट हुँदै ३२९ रन बनायो । जवाफमा इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मात्र ३२२ रन बनाउन सक्यो ।
इङ्ल्याण्डका लागि स्याम करनले ८३ बलमा नटआउट रहँदै ९५ रनको पारी खेले । करनको एकदिवसीय खेलमा पहिलो अर्धशतक थियो । डेविड मलानले ५० रन बनाए ।
३३० रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्याण्डले २ सय रनमा ७ विकेट गुमाइसकेको थियो । तर, करनले हार मानेनन् र अन्तिमसम्म डटिरहे । आठौँ विकेटका लागि उनले आदिल रशीदसँग मिलेर ५७ रनको साझेदारी गरे । नवौँ विकेटका लागि मार्क वुडसँग मिलेर ६० रन जोडे । तर, टोलीलाई जीत भने दिलाउन सकेनन् । इङ्ल्याण्डलाई रोक्न शर्दुल ठाकुरले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए ।
यसअघि भारतका लागि रिसभ पन्तले सर्वाधिक ७८ रन बनाए भने हार्दिक पाण्ड्याले ६४ तथा शिखर धवनले ६७ रन बनाए । मार्क वुडले ३ विकेट लिए ।
FACEBOOK COMMENTS