काठमाडौं वैशाख ३० । नेकपा एमाले अध्यक्ष केपीशर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । उनी वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री पदबाट हटेका थिए ।
त्यसपछि, राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर सरकार बनाउन आह्वान गरेकी थिइन् ।
तर, तोकिएको समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा दाबी गर्न सकेनन् । खासगरी, जनता समाजवादी दलका ३० सांसदमध्ये १५ सांसद प्रधानमन्त्री ओलीकै पक्षमा देखिएपछि देउवाको नेतृत्वमा सरकार बन्न नसकेको हो ।
देउवाले सरकार बनाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नै नियुक्त गरेकी हुन् । ओली प्रचण्डको सहयोगमा पहिलोपटक २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
त्यसपछि २०७४ साल फागुनमा दोस्रोपटक प्रधानमन्त्री बनेका उनी आज तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिँदै छन् । अहिलेसम्म कम्युनिष्ट नेता पुष्पकमल दाहाल (प्रचण्ड) दुई पटक प्रधानमन्त्री बनेका छन् ।
यी दुई बाहेक अन्य कम्युनिष्ट नेता दोहोर्याएर प्रधानमन्त्री बनेका छैनन् ।
FACEBOOK COMMENTS