काठमाडौं, साउन १६। ‘तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन’ यही साउन ३० गते हुने भएको छ । ‘साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने विषयलाई आत्मसात् गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक सिन्धुपाल्चोक थाङपालधाप खेलकुद विकास समितिले जनाएको छ ।
पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ कि.मि.को दुरीमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन हुने भएको हो । प्रतियोगितामा तीन विभागीय क्लबका र व्यक्तिगत गरी करिब १५५ खेलाडीले भाग लिन पाउनेछन । पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने सो प्रतियोगिताका प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार, चौथो पुरस्कार १० हजार र पाँचौं हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी, सिन्धुपाल्चोकबाट सहभागिता जनाउने खेलाडीमध्ये पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार तथा तेस्रोले पाँच हजार नगतसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने भएको छ।
पाचँपोखरीमा भदौ पुर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । उक्त मेला हेर्न सिन्धुपाल्चोक र आसपासका विभिन्न जिल्लाहरूबाट हजारौको संख्यामा धार्मिक पर्यटकहरूले पाचँपोखरी दर्शन गर्ने गरेको छन् । प्रतियोगितामा विभागिय टोलीहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र व्यक्तिगत गरी करिब १ सय ५५ जना खेलाडी सहभागी रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुनको लागि पाँचपोखरी थाङ्पाल गाउँपालिका, खेलकुद विकास समितिमार्फत फारम वितरण गरिएको छ भने म्याराथनको फेसबुक पेजमा गएर अनलाइन फारम भर्न पनि सकिने छ ।
समुन्द्री सतहदेखि करिब ४ हजार १ सय मि.को उचाइमा पर्ने यस स्थानमा पाँच वटा पोखरीहरू रहेका छन् । यो पोखरी संसारकै उच्च स्थानमा रहेको पोखरीहरू मध्ये उचाइको हिसाबले नवौं स्थानमा पर्ने बताउंदै नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरिरहदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दाले पाँचपोखरीलाई १०० नयाँ पर्यटकीय गन्तव्यहरू मध्येमा पर्न सफल भएको आयोजकको भनाई छ ।
FACEBOOK COMMENTS